कोरोना भाइरसविरुद्धका भ्याक्सिनका पछिल्ला खबरले संसारभरका मानिसमा आशाको सञ्चार गरेको छ । अहिलेसम्म १ सय ५० भ्याक्सिन क्लिनिकल परीक्षणमा छन् । केही प्रारम्भिक चरणको परीक्षणमै छन् । अन्तिम चरणको परीक्षणमा अहिले ६ वटा भ्याक्सिन छन् । त्यसबाहेक रुसले हालै घोषणा गरेको भ्याक्सिनको पनि अन्तिम चरणको परीक्षण गर्ने तयारी छ ।
अमेरिकाको म्यासाचुसेट्सस्थित बायोटेक कम्पनीले नेसनल इन्स्टिच्युट अफ हेल्थसँग मिलेर नयाँ भ्याक्सिन बनाइरहेको छ । यो भ्याक्सिनले जेनेटिक मेटेरियल, म्यासेन्जर आरएनएमा काम गर्छ । अन्य भ्याक्सिनले जस्तै वास्तविक भाइरसमा यसले काम गर्दैन । यसले भाइसरको नक्कल गरेर प्रोटिन बनाउँछ र भाइरसलाई नियन्त्रण गर्छ । यो नयाँ तरिका हो । यो भ्याक्सिनको मूल्य ३२ देखि ३७ अमेरिकी डलर पर्छ । नेपाली मूल्य झण्डै ४ हजार पर्छ ।
न्युयोर्कस्थित फाइजर (Pfizer) जर्मन बायोटेक कम्पनी सँग मिलेर कोरोनाविरुद्धको भ्याक्सिनमा काम गरिरहेको छ । यो भ्याक्सिन पनि एमआरएनए प्लेटफममा आधारित छ । यो जर्मन कम्पनीले यसअघि नै क्यान्सरको प्रायोगिक भ्याक्सिन बनाइसकेको छ । फाइजरले अमेरिकी सरकारसँग झण्डै १ सय ९५ करोड भ्याक्सिनको आपूर्तिका लागि सम्झौतामा हस्ताक्षर गरेको छ । यो भ्याक्सिनलाई सन् २०२० को अक्टुबरसम्म अनुमति मिल्नसक्ने अनुमान गरिएको छ । यो भ्याक्सिनको मूल्य १९ डलर ५० सेन्ट अर्थात झण्डै २ हजार ३ सय रुपैयाँ पर्छ ।
अक्सफोर्ड विश्व विद्यालयले ChAdOx1 nCoV-19 भ्याक्सिनका लागि एष्ट्राजेनेकासँग साझेदारी गरेको छ । यो भ्याक्सिन अन्तिम चरणको परीक्षणमा छ । यो भ्याक्सिन सेप्टेम्बरसम्म बजारमा आउने अपेक्षा छ । यो भ्याक्सिनको मूल्य ४ डलर अर्थात ४ सय ८० रुपैयाँ पर्ने अनुमान छ ।
चाइना नेसनल बायोटक ग्रुप सिएनबिजीको सिनोफार्म कम्पनीले भ्याक्सिन डिसेम्बरसम्म बजारमा आउने जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतले दुई डोजको एक हजार युआन अर्थात झण्डै १६ हजार रुपैयाँ पर्छ । यो भ्याक्सिनको अन्तिमचरणको परीक्षण संयुक्त अरब इमिरेट्समा १५ हजार व्यक्तिमा भइरहेको छ ।
चीनको सिनोभ्याक बायोटेकको कोरोनाभ्याक भ्याक्सिन एक इनएक्टिभेटेड भ्याक्सिन हो । यो भ्याक्सिनले निष्क्रिय विषाणुमा आधारित भएर काम गर्छ । यो पनि तेस्रो चरणको परीक्षणमा छ । यो भ्याक्सिन ९ हजार जनामा परीक्षण गरिएको छ । यसमा स्वास्थ्य सेवासँग सम्बन्धित व्यक्ति धेरै छन् । यो ब्राजिलमा पनि परीक्षण भइरहेको छ । यसको मूल्य अहिलेसम्म तय भएको छैन ।
चीनको Ad5-nCoV भ्याक्सिन चीनको सैन्य क्षेत्रमा काम गर्नेहरुलाई परीक्षण गरिएको छ । बेइजिङ इन्स्टिच्युट अफ बायोटेक्नोलोजीको सहयोगमा क्यानसिनोबायोले बनाएको यो Ad5-nCoV भ्याक्सिन एडिनोभाइरस आधारित भाइरल भेक्टर प्रविधिको भ्याक्सिन हो । यो २९ जुन सन् २०२० देखि चिनियाँ सैन्य क्षेत्रमा काम गर्नेहरुका लागि प्रयोग गरिएको छ । अहिलेसम्म यो फ्रिमा वितरण गरिएको छ । कम्पनीले चाँडै नै मूल्य निर्धारण गर्ने जनाएको छ ।
भारतको सिरम कम्पनी संसारकै ठूलो भ्याक्सिन निर्माण गर्ने कम्पनी हो । सिरम इंन्स्टिच्युटले करोडौँ संख्यामा भ्याक्सिन बनाउने सम्झौता गरेको छ । यो भ्याक्सिनको मूल्य १ हजार ६ सय रुपैयाँ पर्ने अनुमान गरिएको छ । यो भ्याक्सिनको पनि तेस्रो चरणको परीक्षण गर्ने तयारी छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ११ अगष्टमा घोषणा गरेको पहिलो कोरोनाविरुद्धको भ्याक्सिन मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाउने प्रमाणित भएको छ । यो भ्याक्सिन Sputnik V नाममा लन्च गरिएको छ । यो कम्पनीले भारतसहितका देशमा साझेदारीमा उत्पादन गर्ने तयारी गरेको छ । अहिलेसम्म यो भ्याक्सिनको मूल्य निर्धारण गरिएको छैन ।
एजेन्सीको सहयोगमा