केही दिनयता एक किशोरी गायिका र अभिनेता पल शाहबारे विभिन्न टिकाटिप्पणी भइरहेका छन् । समाजिक सञ्जाल, मिडिया, कलाकारदेखि सर्वसाधारणले पक्ष र विपक्षमा तर्कहरू गरिरहेका छन् ।
नाबालिग भनिएकी गायिकाले अभिनेता पलविरुद्ध जबरजस्ती करणीको उजुरी दर्ता गरेपछि उनी तनहुँ प्रहरीको हिरासतमा छन् । यही मुद्दामा दुवै पक्षका विभिन्न अडियोहरू सार्वजिनक भएपछि कतिपयले पीडित गायिकाकै गल्ती भएको बताइरहेका छन् भने कतिले पललाई दोषी बताइरहेका छन् ।
विशेषगरी सामाजिक सञ्जालमा दुवैका पक्ष विपक्षमा टिप्पणी भइरहेका छन् । यसमा सर्वसाधारणसहित कलाकारदेखि अधिकारकर्मीहरू संलग्न छन् । तर, अधिकांश कलाकाहरूले भने यसबारे बोलेका छैनन् । केहीले खुलेरै अभिनेता पलको समर्थन गरिरहँदा केहीले पीडित गायिकालाई साथ दिएका छन् । यस्तैमा मंगलबार केही अभिनेत्रीहरूले पीडित भनिएकी गायिकाको समर्थनमा वकालत गरे ।
जसमध्ये अभिनेत्री रेखा थापाले सबैभन्दा पहिला सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालबालिकालाई कानुनतः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार हुने बताएकी छिन् । “२० वर्षमुनिका छोरीहरू बालिका हुन्, बालिका कानुनतः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन् ।
समाजको भूमिका उनीहरूलाई संरक्षण गर्ने हो,” रेखा लेख्छिन्, “कोसँग लभ छ, कतिपटक यौनसम्पर्क भयो, यस्ता नैतिकतावादी कुराको कानुनलाई मतलब हुनु हुँदैन । समाजको आडम्बर त कुरा गरी साध्य छैन । केटीमान्छे भनेपछि दुनियाँभरि कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रूपमा नेपालमा व्याप्त छ ।”
त्यसको केही घण्टामै अर्की अभिनेत्री ऋचा शर्माले पनि सामाजिक सञ्जालमार्फत पीडित गायिकाको पक्षमा टिप्पणी गरिन् ।नाबालिगको संरक्षण गर्नु भनेकै कानुनको सम्मान गर्नु भएको भन्दै उनले नेपाली समाजले आफ्नो दायित्व भुल्न नहुनेमा जोड दिएकी छन् । मुलुकी अपराध संहिताले १८ वर्ष मुनिकासँग यौन सम्बन्ध राख्नु बलात्कारमै गन्ने भन्दै उनी लेख्छिन्, “कानुनमा कसले, के कुन अवस्थामा उल्लेख नगरेको कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको हो ।
राज्य भनेको हामी पनि त हौँ नि । हैन र ?" उनले अगाडि लेखेकी छन्, “१८ वर्ष मुनिकाको सहमतिमै यौन सम्बन्ध भए पनि बलात्कार ठहरिनुको कानुनी व्यवस्था हुनुको अर्थ निर्णय क्षमतासँग जोडिन्छ नै । अनी नाबालिगको संरक्षणको जिम्मेवारी समाजको पनि भएकाले नै यस्ता कानुनी प्रबन्ध गरिएको हो ।
यति बुझौँ नाबालिगकै करमा पनि कसैले यौन सम्बन्ध राख्यो भने त्यो बलात्कार हो । उसैले बोलाएको भनेर कानुनले छुट दिन्न ! मलाई विश्वास छ, नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर एक नाबालिगको चरित्र हत्या गर्न सक्दैन मेरो समाजले । नाबालिगको संरक्षण, कानुनको सम्मान हो ।” त्यस्तै अभिनेत्री सञ्चिता लुइटेलले पनि कानुनले निर्णय सुनाउन बाँकी रहेको विषयमा आपत्तिजनक टिकाटिप्पणीहरू नगर्न आग्रह गरेकी छन् ।
उनले भनेकी छन्, “पछिल्लो प्रकरणसँग जोडेर धेरै आपत्तिजनक भिडियोहरू टिकटकमा भाइरल भइरहेका छन् । यस्तो कार्यमा धेरै बालबालिकाको पनि प्रयोग भइरहेको पाएको छु, जुन अत्यन्तै चिन्ताजनक कुरा हो । कानुनले निरूपण गर्न बाँकी रहेको विषयमा कसैको व्यक्तिगत इज्जत–प्रतिष्ठामा आँच आउने र चरित्रहत्या गर्ने किसिमका पोस्टहरू कृपया बन्द गरौँ ।” उनले आफ्नो पोस्टमार्फत यस्ता पोस्टहरू प्रति नेपाल प्रहरीको पनि ध्यानाकर्षण गराउन चाहेको बताएकी छन् ।
“दोषी र निर्दोषी छुट्याउने काम कानुन र अदालतको हो । त्यतिन्जेल सबैले धैर्य गर्नुको विकल्प छैन् । सामाजिक सञ्जालको अनावश्यक होहल्ला र गालीगलौजले न्यायसम्पादनको प्रक्रिया प्रभावित नहोस भन्नेमा सबै सचेत रहनुपर्छ ।” उनले न्याय सम्पादनलाई प्रभावित नगर्न पनि आग्रह गरेकी छन् ।