Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

१६ वर्षपछि हत्या गरेर बहराइन पुगेका अभियुक्तलाई प्रहरीले नेपाल ल्यायो

१६ वर्षपछि हत्या गरेर बहराइन पुगेका अभियुक्तलाई प्रहरीले नेपाल ल्यायो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २५, २०७८ बुधवार • २१:२६:२८ बजे
  • 1.1K
    SHARES
  • १६ वर्षपछि हत्या गरेर बहराइन पुगेका अभियुक्तलाई प्रहरीले नेपाल ल्यायो

    आजभन्दा १६ वर्षअघि तत्कालीन लेखनाथमा एउटा हत्या भएको थियो । २०६३ को वैशाख २९ गते सुनसरी घर भई साबिक लेखनाथ नगरपालिका-१३ सातमुहानेमा बस्दै आएका रोजन राई घाइते अवस्थामा भेटिए । उनी खुदीखोलामा गयविन जाली भर्ने कामका लागि लेखनाथ आएका थिए ।

    images

    अनुसन्धान गर्दै जाँदा २० वर्षका राईलाई सोही ठाउँमा अशोक गुरुङले कुटपिट गरेको पत्ता लाग्यो । राईको अवस्था गम्भीर रहेकोले उपचारकै क्रममा जेठ २ गते मृत्यु भयो । लाश जाँच मुचुल्कामा उनको दायाँ हातको कुम र पाखुरामा छाला खुइलिएको र टाउकोको बायाँतर्फ चोटैचोट थियो ।

    उनको मृत्युको कारण टाउकोको चोट भएको पोस्टमार्टम रिपोर्ट आयो । त्यसपछि गुरुङ गाउँ छोडेर भागे । उनी कतार र बहराइनमा वैदेशिक रोजगारीका लागि गएका थिए ।

    उनै गुरुङलाई पक्राउ गर्न कास्की प्रहरीले यही असोजदेखि प्रक्रिया सुरु गर्‍यो । असोज ६ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी लियो । प्रहरीले इन्टरपोल शाखाबाट १२ असोजमा रेड नोटिसको लागि सिफारिस पठायो ।

    खोजी गर्दा गुरुङ बहराइनमा रहेकोले अन्तर्राष्ट्रियता खोजतलास एवं पक्राउको लागि जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा २०७८ मंसिर २७ गते इन्टरपोल महासचिवालयबाट ‘रेड नोटिस’ जारी भएको थियो । सबै प्रक्रिया पूरा गरेर इन्टरपोल शाखाबाट खटिएको प्रहरीको टोलीले आरोपीलाई फागुन २४ गते नेपाल ल्यायो ।

    त्यसपछि कास्की प्रहरीले उनलाई जिल्लामै ल्याएर अनुसन्धान अघि बढाएको छ । उनलाई कर्तव्य ज्यान मुद्दामा सात दिन म्याद थपेर अनुसन्धान थालिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । ‘यो कास्कीका लागि पहिलो घटना हो । सम्भवतः नेपालकै लागि पनि करिब पहिलो होला ।

    रेसिप्रोकल सिस्टममा हामीले यसरी अपराधी ल्याउन सकेका थिएनौं,’ उनले भने, ‘हामीलाई बहराइन प्रहरीले राम्रो सहयोग गर्‍यो । अब बहराइनका कोही अपराधी नेपालमा रहेछन् भने हामीले पनि उनीहरूलाई बुझाउने सर्तमा यो काम भएको हो ।’ नेपाल प्रहरीले विदेशमा लुकेका अपराधीलाई सीधै समातेर ल्याउने सन्धि छैन ।

    ‘अहिलेसम्मका घटनामा कुनै अपराधी विदेशमा रहेछ भने त्यहाँको सरकारले देश निकाला गरिदिन्छ । अनि नेपाल प्रहरीले समात्ने हो,’ उनले भने, ‘अहिले चाहिने नेपाल प्रहरी नै गएर उताको सरकारले देश निकाला नगरीकन समातेर ल्याएको हो ।’

    योसँगै अर्को एउटा घटनाको आरोपी पनि विदेशमा रहेकोले उक्त ब्यक्तिको खोजी सुरु भएको तिवारीले बताए । कास्की प्रहरीले यसलाई निकै ठूलो उपलब्धिको रूपमा लिएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रहरीले नेपाल ल्यायो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology