शम्भु रसाली
तिम्रो यस्तो महान कार्यबाट म धेरै नै प्रभावित भएको छु । बुवाआमालाई दिने माया, इज्जत र सम्मान अनि समाज प्रति जिम्मेवार नागरिक बन्ने कला म लगाएत सम्पुर्ण नेपालीले तिमीबाट सिक्नै पर्छ । राम्रो कामको अनुकरण सबैले गर्नै पर्छ, म गर्छु ।
बुवाआमाले छोराछोरीबाट आस गर्ने भनेकै माया, मान, सम्मान र इज्जत हो, जुन तिमिले गर्ने मात्र होइन समाजमा प्रमाणित नै गरेर देखाएयौ, यसको लागि पनि तिमी धन्यवाद पात्र बनेका छौ । यस्तै कार्य गर्दै जाउ एक दिन मैले मात्र होइन यो देशले नै भन्ने छ, छोरा हुनु त सुधन जस्तो ? लिने मात्र सस्कार रहेको बर्गभित्र जन्मेर पनि समाजलाई केही दिन खोज्नु आफैमा नविनतम कुरा हो । बिहानीले दिनको सङ्केत गर्छ भने जस्तै अब पिडिआरसी मार्फत दलित विद्यार्थीहरुको शैक्षिक विकासका लागि सहयोगी मनहरुको पनि जन्म हुँदै छ भन्ने यो राम्रो उदाहरण हो । जुन कामको सुरुवात तिमिले गर्यौ यसर्थ पनि तिमि धन्यवादको पात्र छौं ।
बाबुआमाको लागि छोराछोराछोरी हुनु तिमि जस्तो । सामाज, समुदाय र देशको लागि नागरिक हुनु तिमि जस्तो । तिम्रो यस्तो महान कार्यको प्रशम्सा अरुले गर्छन या गर्दैनन त्यो मलाई थाहा छैन तर म छाती फुलाएर प्रशम्सा गर्छु र भन्छु स्याबास भान्जा यस्ता काम गर्दै जानु र समाज अनि देशको असल नागरिक बन्नु । तिम्रो यस्तो कार्यबाट अरुले सिक्छन वा सिक्दैनन त्यो मलाई थाह छैन तर म दिल खोलेर भन्छु तिम्रो कामको अनुकरण गर्ने छु । म पनि मेरो बुवाआमाको नाममा कोष बनाउनेछु । जुन कोषले आर्जेको रकमबाट जबसम्म नेपाल भन्ने देश र पिडिआरसी भन्ने सस्था रहीरहन्छ त्यतिबेलासम्म मेरो बुवा र आमाको नाममा पिडिआरसीबाट एक पछि अर्को गर्दै धेरै विद्यार्थीहरुले पढ्न पाउनेछन र शिक्षित हुनेछन ।
आफ्ना सन्तानको पालन पोषणको लागि बाउआमाले ढुङ्गा र माटोसङ्ग आफ्नो पसिना र रगत साट्न तयार हुन्छ्न, भारीसङ्ग आफ्नो इनर्जी साट्न तयार हुन्छन् । आफ्नो सन्तानको खुसीको लागि बाउआमा जस्तो सुकै परिस्थितिसङ्ग जुध्न तयार हुन्छन, आवश्यक परे आफ्नो सन्तानको लागि ज्यूज्यान दिन समेत पछि पर्दैनन, सत्य यहीँ हो तर सन्तानहरुले बुझ्ने कहिले?
आफ्नो सन्तानको लागि सबै थोक गुमाउन तयार हुने बाबुआमाले आफ्नै बाउआमाको महत्त्व नबुझ्ने यो स्वार्थी दुनियाँमा तिमि जस्तो छोरा पाउनु बाबुआमाको लागि मात्र होइन हामीसबैको लागि खुसि र गर्बको कुरा हो । तिमी ॐमताराको मात्र होइन नेपाल आमाको पनि छोरा बन्नु पर्छ ।
बाबुआमाको पसिनालाई नचिन्ने, बाबुआमाको मायालाई नबुझ्ने, बाबुआमाको सम्पत्तिमा काटामार गर्ने, बाबुआमाको नाम भजाएर हिड्ने तर तिनै बाबुआमालाई वृद्ध आश्रममा लगेर राख्ने, तिनै आमाबुबासङ्ग छुट्टीएर बस्ने, तिनै आमाबुवासङ्ग बोलचाल बन्द गर्ने यो समाजका पढेलेखेका वा नपढेका दुबै बर्गले बुझ्नु पर्ने कुरा भनेको बाबुआमालाई दिने माया, इज्जत र सम्मान हो । यसका लागि सदैव तयार हुनु भयो भने राम्रो छोरा राम्री छोरी बन्न सक्नु हुनेछ ।
बाबुआमालाई गास सके पेट भरी देउ नसके आधा पेट, बास सके राम्रो देउ नसके घाम र पानी छेक्ने छाना, कपास सके राम्रो देउ नसके इज्जत ढाक्ने कपडा, यसले केही फरक पर्दैन तर बाबुआमालाई दिनु पर्ने माया, इज्जत र सम्मान दिन सकेनौ भने त्यसले धेरै फरक पर्ने छ । र तिमि छोराछोरीको नाममा केबल सृष्टि सन्चालनको भुमिका मात्र निर्वाह गर्ने प्राणी बन्ने छौ ।
कोषको स्थापनाले बुबाआमालाई सधै अमर बनाउने छ किनकि कोष सधै अमर हुन्छ । जुन कोषले आर्जेको आम्दानीबाट लक्षित बर्गले अनन्तकालसम्म पढ्न पाउने छन । आज भन्दा १०००/- बर्ष पछिका सन्ततिले पनि गर्बका साथ भन्ने छन "मिति २०७८ फाल्गुन २१ गते स्थापना भएको ॐतारा क्षात्रबृती कोषबाट मैले पढ्न पाएको छु, धन्यवाद छ पिडिआरसी, धन्यवाद छ सुधन पौडेल र धन्यवाद छ ॐतारा क्षात्रबृती कोषलाई ।"
आफुले आफुलाई र जन्म दिने बाबुआमालाई अनन्त कालसम्म अमर बनाउने सबै भन्दा सजिलो माध्यम यहि हो कि समाजले अनन्तकालसम्म सम्झिने काम गर्ने । मैले पनि मेरो बुवा स्व.डिल बहादुर रसाली र आमा ग्यानी सरा रसालीको नाममा पिडिआरसीको मातहतमा रहने गरी "डिल-ज्ञानी सरा शैक्षिक विकास कोष" को स्थापना गरेर दलित एबम गैरदलित बिद्यार्थीहरुको बैसाखी बन्ने निर्णय गरेको छु । तपाईले ?
माथि सुक्ष्म तरीकाले बाबुआमा र छोराछोरीको पक्षबाट मात्र हेरेर शैक्षिक विकासको कोषको चर्चा परिचर्चा गरिएको छ । राम्रा पक्ष मात्रै चर्चा देखेर नकारात्मक सोच भएका छोराछोरीले यसको नकारात्मक टिकाटिप्पणी पनि गर्न सक्ने कुरालाई मध्य नजर गर्दै यस कार्यको बृहत पक्षबाट पनि विश्लेषण गर्ने जमर्को गरेको छु:
शैक्षिक नजरले हेर्दा, मानौ सुधन जस्ता सोच भएका १०० जना व्यक्ति भए भने १०० जना दलित विद्यार्थीले पढ्ने अवसर पाउने छन । १०० जना चेतनशील नागरिक बन्नु भनेको आज भन्दा १०० बर्ष पछिलाई हेर्ने हो भने हजारौं नागरिकलाई शिक्षित नागरिक बनाउनु हो । सबल नागरिक बनाउनु हो । अब भन्नुस यस्तो कार्यको प्रशम्सा गर्ने कि नगर्ने ?
सामाजिक नजरले हेर्दा, १०० जना शिक्षित बन्नु भनेको समाजमा रहेका बिकृति (विभेद) र विसङ्गती १०० जना बराबरको सख्यामा कम हुनु वा हट्नु हो । हजारौं लाखौलाई यस्ता अभियानमा जोड्न सके बिभेद लगायतका बिसङ्गगि समेत हट्दै जाने पक्का छ । अब भन्नुहोस यस्तो कार्यको अनुकरण गर्ने कि नगर्ने ?
राज्यको नजरबाट हेर्दा, प्रत्येक नागरिकको गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मेवारी राज्यको हुन्छ । यदि १०० जना विद्यार्थीको जिम्मा नागरिकहरुले लिने हो भने राज्यलाई १०० विद्यार्थी बराबरको भार कम हुने छ । यस्तो अवस्थामा राज्यले त्यो बराबरको रकम अन्य विकासको काममा लगाउन सक्ने छ । यसर्थ पनि देशलाई वास्तवमै विकासको दिसा तीर लाने हो भने नागरिकहरु आफै स्वस्फूर्तरुपमा यस्तो कार्य गर्नु आवश्यक छ ।
अन्तमा, बाबुआमाको सम्पत्तिमा कल झगडा होइन बाबुआमालाई अमर बनाउन दाजुभाई र दिदिबहिनीसङ्ग सहकार्य गर्नुस । सकिन्छ एक्लै, सकिदैन दाजुभाइ र दिदिबहिनीहरु मिलेर शिक्षा र स्वास्थ्य जस्तो संबेदनसिल क्षेत्रमा काम गर्नुहोस, आफू पनि बन्नुहोस र अर्कोलाई पनि बनाउनु होस ।
बधाई एबम शुभकामना सुधन भान्जा । व्यवसायिक विकास एवं अनुसन्धान केन्द्र (पिडिआरसी) मार्फत मेरो दिदिभिनाजु र तिमिलाई जन्म दिने बुवाआमाको नामबाट 'ॐतारा क्षात्रबृती कोषको स्थापना गरेर दलित तथा जेहेन्दार विद्यार्थीको सारथी बन्ने जुन निर्णय गर्यौ त्यो एकदमै प्रशम्सनीय र मननीय छ ।
यो उहाँको ब्यक्तिगत बिचार हो ।सामाजिक काम भएको हुँदा यो लेखलाई स्थान दिएको छ ।