नाबालिग गायिकालाई जर्बजस्ती करणी गरेको अभियोगमा नायक पल शाहविरुद्ध परेको मुद्दामा थुनछेक बहस सकिएको छ ।
थुनछेक बहस सकिएसँगै आज नै थुनछेक आदेश आउने जिल्ला अदालत तनहुँका सूचना अधिकारी हरिचन्द्र गौतमले बताए ।
उनले भने, ‘बहस सकिएको छ । आदेश आजै आउँछ ।’ उनका अनुसार जाहेरवालाको पक्षबाट दुई जना सरकारी वकिलसहित नौजना कानुन व्यवसायीले बहस गरेका थिए ।
प्रतिवादीका तर्फबाट ११ जनाले बहस गरेको उनले जानकारी दिए । जाहेरवाला पक्षको बुधबार नै बहस सकिएको थियो । प्रतिवादीको तर्फबाट तीनजनाले बहस गरेका थिए ।
तेस्रो कानुन व्यवसायीको बहसबाट बिहीबार सुरु भएको हो । बुधरदेखि जिल्ला न्यायाधीश हरिषचन्द्र ढुंगानाको बन्द इजालसमा बहस सुरु भएको थियो ।
सोमबार जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यायलमा बुझाएको थियो । सरकारी वकिलको कार्यालयले मंगलबार मुद्दा दर्ता गराएको हो ।
१२ देखि १४ वर्षको कैद सजाय माग गर्दै जिल्ला अदालत तनहुँमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको हो ।
प्रहरीले बुझाएको प्रतिवेदनको आधारमा पीडित बालिका १६ वर्ष कम उमेर भएकाले १२ देखि १४ वर्षसम्मको कैद सजायको र मनासिव क्षतिपुर्ती माग गर्दै मुद्दा दर्ता गरिएको छ । पलका म्यानेजर जोशीलाई आधा सजायको माग गरिएको छ ।
मंगलबार पलको बयान लिइएकोमा बुधबार उनको म्यानेजर कृष्णप्रसाद जोशीको बयान लिएर सकाएपछि थुनछेक बहस सुरु भएको थियो ।
बालिका बलात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतमा थुनछेक बहस चलिरहँदा सरकार अर्थात् वादी पक्षका एक कानुन व्यवसायीले शाहलाई थुनामुक्त गर्दा अन्य बालबालिका असुरक्षित हुने तर्क पेश गरेका छन् ।
बन्द इजलासमा भएको थुनछेक बहसका क्रममा एक कानुन व्यवसायीले शाहलाई थुनामुक्त गरे अन्य बालिका पनि जोखिममा पर्न सक्ने भन्दै थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने बताएका हुन् ।
वादीको तर्फबाट बहस गर्ने एक कानुन व्यवसायीले आफ्नो बहसमा बालिका बलात्कार प्रकरणमा प्रतिवादी बियर लिएर बालिका सुतेको कोठामा जानु अपराधिक मनसाय र मध्यरातमा बालिका सुतेको कोठामा गएर करणी गरेको विषय बालिकाको बयानमा उल्लेख भएकाले आपराधिक कार्य दुवै भएको दाबी गरेका छन् ।
पीडितको शरीर नै घटनास्थल हुने, बलात्कार भीडभाडमा नहुने र लुकिछिपी हुने भएकाले पीडितको भनाई नै महत्त्वपूर्ण प्रमाण हुने भएकाले अभियोग पुष्टि हुने वकिलको जिकिर थियो ।
बलात्कारजन्य अपराधमा परिस्थितिजन्य प्रमाण नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण प्रमाण हुने किरण बिकविरुद्ध नेपाल सरकार वादी भएको मुद्दामा सर्वोच्च अदालतको नजिर प्रस्तुत गर्दै परिस्थितिजन्य प्रमाणले वारदात पुष्टि हुने ती कानुन व्यवसायीले बताए ।