इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो खेलमा शनिबार कोलकाता नाइड राइर्डरले चेन्नइ सुपर किंङ्सलाई ६ विकेटले पराजित गरेको छ ।
वानखेडे क्रिकेट रंगशालामा चेन्नइले दिएको एक १३२ रनको लक्ष्य कोलकाताले १८ ओभर ३ बलमा चार विकेट गुमाएर भेट्टायो । कोलकाताको जितमा ओपनर अजिक्या रहानेले सर्वाधिक ४४ रन बनाए । उनले ३४ बलमा चार चौका र एक छक्का प्रहार गरेका थिए ।
यस्तै, साम बिलिङ्सले २५, नितिश राणाले २१ र कप्तान श्रेयस ऐयरले २० रन जोडे । सिएकेका ड्वेन ब्राभोले तीन विकेट लिए । यसबाहेक, मिचेल सान्टनरले एक विकेट हात पारे ।
यसअघि टस हारेर ब्याटिङमा आएको चेन्नइले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १३१ रनको योगफल खडा गरेको थियो । चेन्नइका लागि महेन्द्रसिंह धोनीले सर्वाधिक ५० रन बनाएका थिए ।
उनले ३८ बलमा सात चौका र एक छक्का प्रहार गरेका थिए । यसबाहेक, रोविन उत्थपाले २८, कप्तान रविन्द्र जडेजाले २६ र अम्बती रायडुले १५ रन जोडेका थिए ।
कोलकाताका उमेश यादवले दुई विकेट लिएका थिए । यस्तै, वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान एक विकेट लिए ।