निर्वाचन आयोगमा तेस्रो लिङ्गी मतदाताको रुपमा १७२ जनाले नाम दर्ता गराइसकेको भए पनि आज सार्वजनिक गर्ने मतदाता नामावलीमा थप बढने संकेत देखिएको छ ।
तेस्रो लिङ्गीको हकहितका लागि काम गरिरहेका संस्थाहरुले मतदाता परिचय पत्रमा तेस्रो लिङ्गी लेख्न अभियान र जागरुकता बढाएका कारण बढन सक्ने अनुमान निर्वाचन आयोगले गरेको छ ।
गत ५ पुससम्म निर्वाचन आयोगमा १७२ जनाले आफूलाई तेस्रो लिङ्गीको पहिचान खुलाएर नाम दर्ता गराएको रेकर्ड कायम छ । ५ पुससम्म १ करोड ६२ लाख ४३ हजार ११० जनाको मतदाता नामावलीमा रेकर्ड रहेको थियो ।
जसमध्ये ८२ लाख ११ हजार ९५४ जना पुरुष छन् भने ८० लाख ३० हजार ९८४ जना महिला छन् ।
आयोगले फागुन अन्तिमसम्मको म्याद राखेर पुनः नामावली उल्लेख गर्न आह्वान गरेअनुसार आज सार्वजनिक हुने मतदाता नामावलीको संख्या झन्डै २ लाख बढने प्रक्षेपण गरेको छ ।