सुनसरीको इटहरी उपमहानगरपालिका–२ को जागृतिटोलमा बम ल्याउने मान्छेबाट बिस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गएराति सुतली बम बिस्फोट भएको थियो । दुई जना घाइते भएका छन् ।
बिस्फोट घटनालगत्तै खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा योजनाबद्ध ढंगले पहिले नै ल्याइ बम राखेर बिस्फोट नगराएको पाइएको हो ।
प्रदेश १ का प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरुणकुमार बिसीले भने, ‘बम राखेको भन्दा पनि लिएर आउने मान्छेबाट बिस्फोट भएको देखिन्छ ।’
बिस्फोटबाट २२ वर्षीय रवीन थापा र लम्जुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् प्रहरीले उनीहरूलाई पनि निगरानीमा राखेको छ ।
डिआइजी बिसीले बिस्फोटको घटनापछि प्रदेश मातहतका सबै प्रहरी युनिटलाई सतर्क रहन निर्देशन दिएका छन् । ‘रातिको घटनाले हिमाल सुरक्षा परिषद्को गतिविधि बढ्यो भन्न त सकिँदैन ।
किनभने अन्य स्थानमा देखिएको छैन’, उनले भने, ‘तर, बढी निगरानी राख्ने र प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी युनिटहरूलाई सतर्क रहन निर्देशन दिएका छौँ ।’
गत १५ फागुनमा परिषद्ले पर्चामार्फत सशस्त्र युद्धको घोषणा गरेको थियो । हिन्दु राष्ट्र घोषणा, राजतन्त्र स्थापना, संघीयता खारेजलगायत मुद्दा उठाउँदै युद्धको घोषणा गरेको थियो ।
घोषणा गरेको ठिक एक महिनामा बिस्फोटको घटना भएको हो । घटनाको अनुसन्धानको क्रममा चन्दा असुल्न बिस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।