Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

५० रूपैयाँ भाडा नदिँदा हत्या !

५० रूपैयाँ भाडा नदिँदा हत्या !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २२, २०७८ मंगलवार • १०:४९:२४ बजे
  • 1.2K
    SHARES
  • ५० रूपैयाँ भाडा नदिँदा हत्या !

    २२ फागुन, साँझ करिब ६ बजे । भूपेन्द्र बुढालाई राजेन्द्र बुढाले फोन गरे र भने, ‘आज मेरो डेरामा बसौँ है ।’ २० वर्षीय भूपेन्द्रले ‘हुन्छ’ भने ।

    images

    उनीहरूको पहाड गाउँ बाजुराको खप्तड छेडदह गाउँपालिकाको गाज्रा हो । नाता दाजुभाइको । तराई बसाइँ भने कैलालीको धनगढी उपमहानगरपालिकामा छ ।

    फोन कुराकानीका क्रममा भएको सल्लाहअनुसार भूपेन्द्र राजेन्द्रकहाँ बस्न हिँडे । जाँदै गर्दा राजेन्द्रसँग उनको भेट धनगढी–२ बेहडीको रुवस होटल नजिक भयो ।

    २४ वर्षीय राजेन्द्र से१ह २८६६ नम्बरको अटोका चालक पनि हुन् । अटो रोकेर होटल नजिकैको कटेजमा ५०/५० रूपैयाँको मदिरा दुवैले खाए । त्यसपछि राजेन्द्रको कोठा धनगढी–५ सन्तोषी टोल हुँदै लागे, दुवै जना ।

    रातको त्यस्तै ८ः३० बजेको थियो । उनीहरू प्रदेशसभा भवन अगाडि पुगे । जहाँ राजेन्द्रले चलाएको अटोलाई कुलदीप गुप्ताले रोके । उनी जाने चाहिँ जालीगाउँ हो ।

    राजेन्द्रले भने– भाडा ५० रूपैयाँ लाग्छ है ।
    कुलदीपले भने– हुन्छ ।

    केही सयममै उनीहरू पुगे, नैनादेवी चोक । त्यहाँदेखि अगाडि बढ्दै गर्दा राजेन्द्रले कुलदीपसँग भाडा मागे ।

    जकाफमा कुलदिपले हिन्दीमा भने,– ‘मे अटोका भाडा नही दुङ्गा, तुम जो करो ।’

    यसपछि उनीहरूबीच विवाद भयो । विवाद गर्दै केराबारी पुगे । जुन धनगढी उपमहानगरपालिका–५ मा पर्छ ।

    त्यहाँ पुगेपछि भाडा नदिए ओर्लिन कुलदीपलाई भने । तर, मानेनन् ।

    नमानेपछि अटोदेखि झार्न खोज्दा भूपेन्द्र र कुलदीपबीच हातहालाहाल भयो । राजेन्द्रले कुटे कुलदीपलाई । त्यहीबेला अटोको पछाडि भागमा रहेको काठको मुङ्ग्रो ल्याइ भूपेन्द्रले कुलदीपको छाती र पेटमा ५/६ पटक प्रहार गर्दा सडक छेउ नालीमा ढलेको भूपेन्द्रले प्रहरीसँगको बयानमा भनेका छन् ।

    त्यसपछि फेरि नालीमै गएर अनुहार र टाउमा त्यही मुङ्ग्रोले पटकपटक प्रहार गरेको पनि बयानमा उल्लेख छ ।

    कुलदीपको हत्या घटना भने २३ फागुनको बिहान मात्र सार्वजनिक भएको हो । सडक छेउ नालीमा शव देखेपछि घटना सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    त्यसपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा भूपेन्द्र र राजेन्द्र मुछिएको पाएपछि प्रहरीले दुवैलाई २७ फागुनमा सन्तोषी टोलबाट पक्राउ गरेको हो ।

    कैलाली प्रहरीले अनुसन्धानपछि बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कैलालीले सोमबार जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा पनि दायर गरेको छ ।

    अभियोग पत्रमा भूपेन्द्र र राजेन्द्रलाई मुलुकी अपराध संहिता – २०७४ को ज्यानसम्बन्धी कसूरको उपदफा (२) अनुसार न्यायाधिवक्ता राजेन्द्रसिंह भण्डारीले जन्मकैदको माग दाबी गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # भाडा नदिँदा हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology