Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दीको धवलागिरि गाउँपालिका बुलगाउँमा पहिलोपटक बस पुग्दा स्थानीयवासीले गरे हर्षबढाइँ

म्याग्दीको धवलागिरि गाउँपालिका बुलगाउँमा पहिलोपटक बस पुग्दा स्थानीयवासीले गरे हर्षबढाइँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २२, २०७८ मंगलवार • १३:००:५० बजे
  • 1.2K
    SHARES
  • म्याग्दीको धवलागिरि गाउँपालिका बुलगाउँमा पहिलोपटक बस पुग्दा स्थानीयवासीले गरे हर्षबढाइँ

    म्याग्दीको धवलागिरि गाउँपालिका–६ बुलगाउँमा पहिलोपटक बस पुग्दा स्थानीयवासीले हर्षबढाइँ गरेका छन् । धवलागिरि गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा मराङको बेँसी–कुम्री–राम्चे–घामताप्ना हुँदै सोमबार पहिलोपटक बुलगाउँमा बस पुगेको हो ।

    images

    पहिलोपटक पुगेको बस, चालक श्रीप्रसाद पुन, सडक निर्माणमा प्रयोग भएको डोजरका चालक पुस्कर खड्कालाई अबिर, फूलमाला लगाएर स्वागत गरेका स्थानीयवासी ईश्वर सुवेदीले जानकारी दिए । यसैगरी नौमती बाजामा नाचगान गरेर खुसीयाली मनाएका थिए ।

    धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले सडकको उद्घाटन गर्दै बुलमा सडक र विद्युत् पु¥याउने प्रतिबद्धता पूरा भएकामा खुसी व्यक्त गरे ।

    वडाध्यक्ष राजाराम सुवेदीले चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको रु १२ लाख ५० हजार र प्रदेश सांसद नरदेवी पुनको सिफारिसमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रु १० लाख बजेटबाट बुलमा सडक पु¥याइएको बताए। छदेखि सात मिटर फराकिलो सडकको मार्ग निर्माणको काम चैत पहिलो हप्ता सकिएको थियो ।

    “विसं २०७४ अघि यस वडाको कुनै पनि बस्तीमा सडक यातायातको सुविधा थिएन”, वडाध्यक्ष सुवेदीले भने, “बुलसँगै साविक मराङ गाविसको नौवटै वडा सडक सञ्जालमा जोडिएका छन् ।” बुल सडक निर्माण समितिका अध्यक्ष नरबहादुर जुग्जालीले सडक निर्माण भएपछि बुल र मलम्पारका २०० घरधुरी लाभान्वित भएका बताए । “बेँसीबाट पैदल हिँडेर बुल पुग्न दुई घण्टा ३० मिनेट उकालो हिँड्नुपर्दथ्यो ।

    ज्येष्ठ नागरिकलाई पूरै दिन लाग्दथ्यो”, उनले भने, “सडक आएपछि यात्रा अवधि ३० मिनेटमा छोटिएको छ ।” स्थानीयवासीलाई आवतजावत, बिरामीलाई समयमै अस्पताल पु¥याउन, कृषि तथा पशुजन्य वस्तु निकासी, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी गर्न सहज भएको जुग्जालीले बताए ।

    सडक सुविधासँगै बसाइँसराइ रोकिने र गाउँ छाडेर गएकाहरू जन्मथलो फर्कने विश्वास गरिएको छ । सत्तरी घर भएको बुलका ४० घरमा मात्र हाल बसोबास छ । यस वर्ष गाउँपालिकाको बजेटले एक हजार ४०० मिटर र प्रदेश सरकारको बजेटले एक हजार ७० मिटर सडकको मार्ग खोल्ने लागत अनुमान भए पनि करिब तीन किलोमिटर मार्ग खोलिएको गाउँपालिकाका प्राविधिक जनक धानुकले बताए ।

    उनका अनुसार बेँशीबाट बुलसम्म सडकको दूरी करिब १२ किलोमिटर छ । यो सडक निर्माणमा उपभोक्ता समितिबाहेक सरकारको मात्र रु एक करोड पाँच लाख खर्च भएको वडा कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७५र७६ मा बेँसीबाट मराङ स्वास्थ्यचौकीको भवनसम्म गाउँपालिकाको रु ३८ लाखमा तीन किलोमिटर मार्ग खोलिएको थियो ।

    आव २०७६र७७ मा स्वास्थ्यचौकीको भवनबाट राम्चेसम्म गाउँपालिकाको रु २५ लाख र प्रदेश सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रु १५ लाख बजेटबाट मार्ग खोलिएको थियो ।

    आव २०७७र७८ मा राम्चेबाट घामताप्नासम्म गाउँपालिकाको रु १० लाख र सङ्घीय सांसद भूपेन्द्र थापाको निर्वाचन क्षेत्र पूर्वाधार साझेदारी कार्यक्रमको रु १७ लाख बजेटबाट मार्ग खोलिएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology