Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मालढुङ्गा-बेनी सडकखण्डमा पाँच घण्टा यातायात बन्द हुने

मालढुङ्गा-बेनी सडकखण्डमा पाँच घण्टा यातायात बन्द हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २३, २०७८ बुधवार • १२:१२:२९ बजे
  • 1.6K
    SHARES
  • मालढुङ्गा-बेनी सडकखण्डमा पाँच घण्टा यातायात बन्द हुने

    म्याग्दी । मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकखण्डमा दैनिक पाँच घण्टा यातायात बन्द हुने भएको छ ।

    images

    जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले मालढुङ्गा–बेनी सडक निर्माणलाई गति दिन आगामी वैशाख ३ देखि वैशाख २५ गतेसम्म दैनिकरुपमा सवारीसाधन चलाउन रोक लगाउने निर्णय गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले बिहान ११ देखि दिउँसो ४ बजेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो ।

    सवारीसाधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि बेनी–जोमसोम–कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालय समक्ष समय व्यवस्थापनको प्रस्ताव गरेको थियो ।

    हाल तेह्र किलोमिटर लामो सडक स्तरोन्नति र कलोपत्रको काम भइरहेको छ । सहजीकरणका लागि म्याग्दी, मुस्ताङ, बागलुङ र कास्की जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ । एम्बुलेन्स र विकास निर्माणका अत्यावश्यक सवारीसाधनका हकमा सहजीकरण गरिने छ ।

    मालढुङ्गा–बेनी सडक बन्द भएको समयमा बागलुङ–रत्नेचौर–बेनी हुँदै मालढुङ्गा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिने छ । एपेक्स–खड्का कृष्ण जेभीको सहायक ठेकेदार कम्पनी ओमकारेश्वरका सञ्चालक अमृत दाहालले सडक निर्माणलाई तीव्रता दिन सवारीसाधन रोकेर काम गर्न समय मागिएको बताउनुभयो ।

    कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दी सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार र सुधार गरी दुई लेनको बनाउन लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । मालढुङ्गा–बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ ।

    विसं २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता भई निर्माण कम्पनीले विभिन्न खण्डमा मजदुर र उपकरण परिचालन गरी सडक विस्तार, पर्खाल र नाली निर्माणको काम गर्दैआएको छ ।

    विसं २०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत निर्माण थालिएको सडक २०५२ मा सञ्चालनमा आएको हो । विसं २०६८ मा कालोपत्र भएको मालढुङ्गा–बेनी सडक पछिल्लो समय जीर्ण थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology