Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

यात्रुवाहक बस टिपरसँग ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु

यात्रुवाहक बस टिपरसँग ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ३०, २०७८ बुधवार • १८:११:१५ बजे
  • 1.2K
    SHARES
  • यात्रुवाहक बस टिपरसँग ठोक्किएर दुर्घटना हुँदा  दुई जनाको मृत्यु

    तनहुँमा बुधबार दिउँसो लहरेपिपलबाट ग१ख ३७४६ नम्बरको यात्रुवाहक बस दुलेगौँडा बजारतर्फ आइरहेको थियो । शुक्लागण्डकी नगरपालिका–८ लालिमस्थित ठुलढुंगामा यात्रुवाहक बसविपरीत दिशाबाट आइरहेको ग१क ३९४० नम्बरको टिपरसँग ठोक्किएर दुर्घटना भयो ।

    images

    सडकमा दुर्घटना भएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरे । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक ज्ञानबहादुर खड्का नेतृत्वको टोली दुर्घटनास्थलमा तत्कालै पुग्यो ।

    दुर्घटनास्थल पुगेसँगै प्रहरीले सबैभन्दा पहिले टिपर चालकलाई नियन्त्रणमा लियो । प्रहरीसँगै नेपाल रेडक्रस सोसाइटी तनहुँको टोली पनि दुर्घटनास्थलमा पुग्यो । प्रहरी र रेडक्रसको टोलीले दुर्घटनामा घाइते भएका यात्रुहरूको उद्धार थाल्यो । सडक छेउमा त्रिपाल विछ्याएर उद्धार गरेकालाई राखियो ।

    घाइतेहरू ऐया र आथ्थु गर्दै चिच्याउँदै थिए । त्रिपालमै राखेर घाइतेहरूको पूर्व प्राथमिक उपचार गरियो । स्थानीय तीनवटा एम्बुलेन्सको सहयोगमा घाईतेहरूलाई दुलेगौँडा बजारमा रहेको तनहुँ सेवा हस्पिटलमा पुर्‍याइयो ।

    हस्पिटलमा ल्याएपछि घाइतेमध्ये दुई जनाको मृत्यु भयो । चारजना गम्भीर घाइते भए । पाँचजना सामान्य घाइते भए । तिमध्ये दुई जना सामान्य घाइते उपचारपश्चात डिस्चार्ज भए । दुर्घटनामा घाइतेको मृत्यु भएपछि आक्रोशित स्थानीयले टिपरमा आगजानीको प्रयास गरे ।

    प्रहरी प्रशासन मुर्दावादको नारासमेत लगायो केहीबेर आक्रोशित भीडले । प्रहरीमाथि हातपातसमेत भयो । प्रहरीले सशस्त्र प्रहरी बलको सहयोगमा भिडलाई नियन्त्रणमा लियो । जिल्ला प्रशासन कार्यालयमा दुई पक्षबीच भएको वार्तामा घाइते र मृतक परिवारलाई उचित क्षतिपुर्ति दिने सहमति भयो । त्यसपछि क्रेनको सहायताले टिपरलाई हटाएर सडक सुचारु गरियो ।

    बुधबार दिउँसो ठुलढुंगामा भएको यो दुर्घटना वास्तविक होइन, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौँडाले सडक दुर्घटना व्यवस्थापन नमुना अभ्यास गर्दाको दृश्य थियो ।

    वार्षिक कार्य योजनाअनुसार अभ्यास गरेको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द अधिकारीले बताए । बर्सेनि एक पटक प्रदेशको कुनै एक जिल्लामा यस्तै नमुना अभ्यास गर्दै आइरहेको उनले बताए । सर्वसाधरणमा सचेतना फैलाउनलाई नमुना अभ्यास गर्ने गरेको उनले बताए ।

    ‘दुर्घटनामा उद्धार गर्नलाई फिल्डमा पर्ने समस्याहरू, हामीले गर्नपर्ने समन्वयको पाटो र के कस्ता समस्याहरू रहन्छन् भनेर नियमन निकायलाई समेत सहभागी गराएर जानकारी गराउँछौँ ।

    सर्वसाधरणलाई पनि दुर्घटना हुँदा कसरी उद्धार गरिन्छ ? केके साधान र स्रोतको प्रयोग गरिन्छ भनेर देखाउनलाई नमुना अभ्यास हुन्छ’, उनले भने । सो अवसरमा बोल्दै गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विकले दुर्घटनामा घाइतेको उद्धारमा प्रहरीले खेल्ने भूमिका प्रशंसनीय रहेको बताए ।

    सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बर्सेनि बढिरहेको उनले बताए । सवारी चालकले सवारी नियमको पालन नगर्दा अधिकांश दुर्घटना हुने गरेको उनको भनाइ छ ।

    ‘मान्छेको जीवन सवारीमा चढेपछि चालकको हातमा हुन्छ । चालकले बडो जिम्मेवारीपूर्ण ढंगबाट चलाउनुपर्छ’, उनले अगाडि थप्दै भने, ‘कहिलेकाहिँ चालकले मदिरा सेवन गरेर चलाइदिने, जिम्मेवार नभइकन हेलचक्रयाइँ गरेर चलाइदिँदा सवारी दुर्घटनामा थुप्रैको ज्यान गएको छ ।’

    सवारी चालकलाई लाइसेन्स लिँदाको बखतमा परीक्षा लिएझैँ बेलाबखतमा तालिम दिन जरुरत रहेको मन्त्री विकले औँल्याए । उनले सवारीको गति जति कम भए दुर्घटनाको सम्भावना उति नै कम हुने उल्लेख गरे । दुर्घटना भएपछि उद्धारमा प्रहरीसँगै सर्वसाधरणले पनि भूमिका खेल्नुपर्ने मन्त्री विकको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # यात्रुवाहक बस टिपरसँग
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology