हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा आज दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
हनुमाननगर कङ्कालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षका रञ्जीत यादवको मृत्यु भएको प्रहरी उपरीक्षक अविनारायण काफलले जानकारी दिनुभयो ।
सप्तरीको भारदहबाट पथरगाडातर्फ लागि जन्ती जाँदै गरेको प्रदेश १–०२४१ प २२९६ नम्बरको मोटरसाइकल र प्रदेश १ –०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल एकापसमा ओभरटेक गर्ने क्रममा ठोकिएका थिए ।
आगलागीमा परेर जुम्लामा ४ बालबालिकाको मृत्यु
जिल्लाको तिला गाउँपालिकाका–३ कुडारी सार्कीवाडा गाउँमा गएराति भएको आगलागीमा परि ४ बालबालिकाको मृत्यु भएको छ ।
आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सार्कीका छोरीहरु ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिएका छन्।
“आगलागीबारे राति ११ः४५ बजे हामीलाई जानकारी भयो”, प्रहरी नायब उपरीक्षक चन्दले भने, “सूचना पाउने बित्तिकै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईसहितको टोलीले त्यहाँ पुगेर आगो नियन्त्रणमा लियो ।” आगलागीबाट घरको दोस्रो र तेस्रो तला पूर्णरुपले क्षति भएको उनले बताए ।
आगलागीका कारण बेहोस भएका मानसिं र उनकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपाचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ ।
मृतक चारै बालबालिकाको शव परीक्षणका लागि प्रतिष्ठानमा ल्याउँदै गरेको उनले बताए। घटना कसरी भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।