यहाँ क्रान्ती भन्ने बित्तिकै गोलाबारुद र ध्वंस हो । भन्ने बुझ्ने लाल-बुझक्कडको कमि छैन । सफलताको साधक नै संघर्ष हो भन्ने बुझ्न जरुरी छ ।
हरेक प्रकारका सामाजिक अभियन्ता र सर्जक नै क्रान्तिकारी र योद्धा हुन । मागेर वा रोएर पाएको सफलतालाई संघर्ष भन्न कदापि सकिँदैन । नत त्यसलाई क्रान्ती नै मान्न सकिन्छ ।
उत्साह, हिम्मत, शाहस, आँट र धैर्यका साथ संघर्ष गरेर पाएको सफलताले नै जीवनलाई सार्थक तुल्याउँन सक्छ ।
असारे हिलोसंगको संघर्ष पछि मंसिरमा झुल्ने धानका बालाले किसानको जीवनलाई आनन्दित तुल्याउँदछ ।
कठोर संघर्ष र मिहिनेत पश्चात परीक्षामा प्राप्त उत्कृष्ट नतिजाले विद्यार्थीलाई खुसी तुल्याउँदछ ।
ह्रदयभित्र उर्लेका भावनालाई गहकिला शब्दमा पोखेर सिर्जना सिर्जित गर्ने सर्जकलाई आफ्ना सिर्जना कृतिको आकृति ग्रहण गर्दा प्रशन्नता भए जस्तै ,
संघर्ष एउटा त्यस्तो पुँजी हो जसले संघर्ष गर्ने व्यक्ति मात्र होइन् त्यो व्यक्ति बस्ने समाज, छर-छिमेक, समुदाय, राज्य आदि सबैले त्यस्ता सफलताको स्वाद चाख्न पाउँदछन् !
यसका विपरीत अल्छी संघर्ष र क्रान्ती भन्ने बित्तिकै तर्सिने र अनर्थ बुझ्नेहरु जीवनमा जहिले पनि पछि पर्छन् र तिनीहरूलाई सफलताले सपनामा पनि साथ दिंदैनन ।
क्रान्तिको शाब्दिक अर्थ उर्जा र संघर्षको शाब्दिक अर्थ कोशिस भन्ने हुन्छ । टक्कर, विद्रोह, घर्षण, युद्धलाई संघर्ष शब्दका यी अर्थले संघर्षको भयावह चित्र मानवसमक्ष उभ्याउँछन् ।
जसरी ढुङ्गा र माटोसंगको टक्कर र बिद्रोह बिना नत खेतिमा धान उब्जिन्छ नत उब्जनी नै बढ्छ ।त्यसरी नै लोहारको आरन र सुनारको चोट बिना नत त्यसले आकार दिन्छ नत सुन्दरता नै दिन्छ ।
जीवन अर्थात् जिवनिसँग गाँसिन आउने अनेकन संघर्ष शब्दले निरन्तर सक्रियता तथा कठोर परिश्रम नै जीवन हो भन्ने अर्थ बुझाउँदछ ।
यसर्थ क्रान्ती नै श्रेय र संघर्ष नै जीवन हो भन्ने बुझाउँछ ।
मानव जीवनलाई चिरिच्याँट्ट पारेर सजाउन समुन्नत र विकसित बनाउन कठोर परिश्रम र सक्रियतारूपी युद्ध स्वच्छ विद्रोह वा स्वच्छ प्रतिस्पर्धारूपी लडाई वा अभियान आवश्यक पर्दछ ।
मानव जातिले कुनै पनि उच्च पद, महान, उपलब्धि एवं विशिष्ट लक्ष्य प्राप्त गर्न यदि अनवरत् रूपमा परिश्रम गरिरहन्छ भने त्यसलाई नै वास्तविक रूपमा क्रान्ती वा संघर्ष भन्न सकिन्छ ।
किनभने सभ्यताको मिर्मिरेदेखि वर्तमानसम्म मानिसले जे-जति उपलब्धि हासिल गरेका छन त्यो निरन्तर परिश्रम र सक्रियतारूपी कठोर संघर्षको प्रतिफल हो । सम्पूर्ण उन्नति र विकासबीचको तत्व नै क्रान्ती र संघर्ष हो ।
सम्पूर्ण प्रगति र अभ्यूत्थानको रहस्य नै संघर्ष हो। त्यसैले जीवनलाई सुखी, सम्पन्न वैभवशाली बनाउने कारक तत्व भनौं वा सारतत्व भनेकै संघर्ष हो । त्यसैले निर्धक्कसँग भन्न सकिन्छ, संघर्ष नै जीवन हो । संघर्ष नै सफलता हो , संघर्ष नै जीवनको आधार हो । यही आधारमा टेकेर मानिसले आफ्नो गन्तव्य तय गर्दछन ।।