सनराईजर्स हैदरावादलाई २१ रनले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगितामा दिल्ली क्यापिटल्सले पाँचौँ जित निकालेको छ ।
बिहीबार राति दिल्लीले दिएको २०८ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर मात्र १६८ रन बनाउन सक्यो । हैदरावादका निकोलस पुरनले सर्वाधिक ६२ रन बनाए ।
यस्तै, एडिन माक्रामले ४२ रनको योगदान गरे । दिल्लीका खलिल अहमदले ३ तथा शार्दुल ठाकुरले २ विकेट लिए । यसअघि मुम्बइमा पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर २०७ रनको बलियो योगफल तयार पारेको थियो ।
दिल्लीका डेभिड वार्नरले सर्वाधिक ९२ रन बनाए । यस्तै, रोभम्यान पावेलले ६७ रनको योगदान गरे । जितसँगै १० खेलबाट १० अंक जोडेको दिल्ली पाँचौँ स्थानमा छ । हैदरावाद १० खेलमा १० अंक जोडेर छैटौँ स्थानमा छ ।