सिन्धुपाल्चोक जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकोमा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ । २ जना अझै बेपत्ता छन् । पहिरोले ३९ घरमा पुर्णरुपमा क्षति पुर्याउँदा १५६ भन्दा बढी मानीसहरु प्रभावीत भएका छन् । पहिरो पीडितलाई केही राहत होस् भन्दै गैरआवासीय नेपाली संघ (एनआरएनए ) ले ५ लाख आर्थिक सहयोग गरेको छ ।
पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर एक समारोहका बिच संघका उपाध्यक्ष सोनाम लामाले ५ लाख आर्थिक सहयोग गरेका थिए ।

उपाध्यक्ष लामाले जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङ र वडाध्यक्ष प्रताप लामालाई संयुक्त रुपमा सहयोग हस्तान्तरण गरिएको थियो ।
कोभिड -१९ को विषम परिस्थितिमा विश्वभर बस्ने गैरआवासीय नेपाली पनि प्रभावीत भएको बताउँदै अहिलेलाई थोरै राहत लिएर भावना साट्टासाट्टा गर्न मात्र आएको जानकारी दिए । उपाध्यक्ष लामाले आगामी दिनमा वर्तमान कोभिड -१९ को परिस्थिति सहज भए पछि सरकारसँग समन्वय गरेर जाने बताए ।

गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले गैरआवासीय नेपाली संघलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा ठोस योजना बनाएर सहकार्य गरि अगाडि बढ्न तयार रहेको जानकारी दिए । कार्यक्रममा एनआरएनएको तर्फबाट बहराइनका पूर्व अध्यक्ष श्याम तामाङ, जुगल गाउँपालीका उपाध्यक्ष सिर्जना तामाङ र पीडितहरुको सहभागिता थियो ।