पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सवा २ घण्टादेखि सम्पर्कविहीन नै छ । म्याग्दी कटेर उकालो लागेपछि जहाज बेपत्ता भएको बताइएको छ । मुस्ताङ थासाङ क्षेत्रका स्थानीयले उक्त जहाज त्यहाँ २ पटकसम्म घुमेको बताएका छन् ।
बादल लागेका कारण जहाज नदेखिएको तर आवाज ठूलो आएको जानकारी दिए । ‘यहाँका स्थानीयले आवाज सुनेका रहेछन् । प्रहरीले पनि त्यो आवाज सुनेको भन्नेछ,’ उनले भने, ‘बादलले टम्मै छ । कतै केही देखिँदैन । हल्का पानी परिरहेको छ ।’
अहिले प्रहरी लेते क्षेत्रमा केन्द्रित भएर खोजीमा जुटेको उनले बताए । सो जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए ।
सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ ।
तारा एयरका अनुसार जहाज अझै सम्पर्कविहीन छ । प्रहरीका अनुसार लेते क्षेत्रसम्म सम्पर्कमा रहेको विमान एकाएक सञ्चार सम्पर्कविहीन बनेको थियो । खोजी कार्य जारी रहेको छ ।
९ एन-एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेको तारा एयर स्रोतले जनाएको छ । जहाजमा चालकदलका ३ सदस्य पनि छन् ।
जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । जहाज ९ बजेर ५५ मिनेटमा उडेको थियो ।