पर्सा प्रहरीको टोलीले नक्कली नोट कारोबार गरेका आरोपमा दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–८ का १९ वर्षीय राजाबाबु साह तेली र पटेर्वासुगौली गाउँपालिका घर भई हाल बहुदरमाई नगरपालिका–८ बस्ने २० वर्षीय अजय सहनी छन् ।
पर्सा जगरनाथपुर गाउँपालिका–६ स्थित लागेको दुर्गा भगवती मेलामा नक्कली नेपाली रु एक हजार दरका नोट साट्दै गरेको अवस्थामा उनीहरूलाई २० थान (२० हजार नक्कली रकम)सहित प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले नक्कली नोट साटिरहेको खबर पाएपछि इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले खोजतलास गर्दै जाँदा उक्त मेलाबाटै नक्कली नोटसहित दुवैलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय पोखरियामा मुद्रासम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
महिलासहित तीन पक्राउ
प्रहरीले मानव बेचबिखन तथा जबर्जस्ती करणी गरेको घटनामा संलग्न रहेको आरोपमा एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सङ्खुवासभा खाँदबारी नगरपालिका–१० घर भई हाल वीरगञ्ज महानगरपालिका–१६ मा कार्की होटल सञ्चालन गर्दै आएकी ४२ वर्षीया लक्ष्मी बुढाथोकी (कार्की), मोरङ जिल्ला कटहरी गाउँँपालिका–४ घर भई हाल पर्सा वीरगञ्ज –८ बस्ने २५ वर्षीय सुरजकुमार साह, जुम्ला जिल्ला हेमा गाउँपालिका–३ बस्ने ३५ वर्षीय हरिचन्द्रनाथ योगी छन् ।