Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अब १८ वर्षमै बिहे गर्न पाउने बनाउने गरी कानुन संशोधन अन्तिम तयारी

अब १८ वर्षमै बिहे गर्न पाउने बनाउने गरी कानुन संशोधन अन्तिम तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३, २०७९ शुक्रवार • १०:३७:२५ बजे
  • 868
    SHARES
  • अब १८ वर्षमै बिहे  गर्न पाउने बनाउने गरी कानुन संशोधन अन्तिम तयारी

    सरकारको एउटा नारा छ, ‘बिहेबारी २० वर्ष पारी’ । तर अब यो नारा उहिलेका कुरा खुइलेमा परिणत हुने अवस्था देखिएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद कोइराला ‘बन्दी’ले मंगलबार प्रतिनिधि सभामा विवाहको उमेर घटाउने विषयमा छलफल भैरहेको जानकारी दिएपछि यस्तो अवस्था सिर्जिदै छ ।

    images

    यसबारे सामाजिक सञ्जालमा पक्ष र विपक्षमा खुलेर बहस भैरहेको छ । वर्तमान कानुनमा २० वर्ष नपुगी बिहे गर्न नपाउने कानुनी व्यवस्था छ । अब त्यसलाई घटाएर १८ वर्ष बनाउने गरी कानुन संशोधन अन्तिम तयारी भइरहेको जनाइएको छ । विवाहको उमेर २० वर्ष राख्दा अपराध बढेको बताउँदै मन्त्री बन्दीले बालविवाहमा सजाय भइरहेकाले कानुन संशोधन गरेरै बिहेको उमेर घटाउने प्रक्रिया अघि बढेको जानकारी दिए । ‘विवाहको उमेर १८ वर्ष बनाउनेबारे अध्ययन भइरहेको छ ।

    १६ वर्षमा नागरिकता पाइन्छ । १८ वर्षमा भोट हाल्न पाइन्छ। २० वर्षमा विवाह भन्ने कानुन छ’, मन्त्री बन्दीले भने, ‘विवाह गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि अवस्थाले देखाउँदैन ।

    यसले बरु अपराध बढाउने काम भइरहेको छ । बालविवाहमा सजाय भइरहेको छ। मन्त्रालयले कानुन संशोधन प्रक्रिया थालिसकेको छ।’ विद्यमान मुलुकी अपराध संहिताको परिच्छेद ११ को दफा १७३ मा महिला–पुरुष दुबैले २० वर्ष नपुगी गर्ने विवाह बालविवाह मानिने उल्लेख छ । २० वर्ष नपुगी बिहे गर्ने गराउनेलाई तीन वर्षसम्म कैद र तीन हजार रुपैयाँसम्म सजाय हुने विद्यमान कानूनमा व्यवस्था छ ।

    २० वर्ष भन्दा कम उमेरमा गरेको विवाह बदर हुने अपराध संहितामा उल्लेख छ । मन्त्री बन्दीको अभिव्यक्ति आउनु पहिल्यै नै नेकपा एमालेकी सांसद् गंगा सत्गौंवा चौधरीले पनि विवाहको उमेर घटाउनु पर्ने धारणा राखेकी थिइन् । विवाहको उमेर २० वर्षबाट १८ वर्ष बनाउनुपर्नेमा सांसद चौधरीको जोड छ ।

    सहरका मान्छे बिहे अगाडि आफ्नो खुट्टामा उभिनुपर्दछ भन्ने कुरामा सचेत छन् । शिक्षित परिवारमा २० वर्ष भन्दा पनि माथि उमेरमा विवाह गर्ने चलन छ । तर कानुन सहरको मान्छेहरुका लागि मात्र ल्याएर हुँदैन । गाउँघरतिर वा दुर दराजमा सानै उमेरमा विवाह गर्छन् । उनी भन्छिन्, ‘गाँउमा १५-१६ वर्षको उमेरमा नानीहरुले प्रेम विवाह गरेर सन्तान जन्माएका छन् । ’सन्तान जन्मेपछि आमाको विवाह दर्ता, बच्चाको जन्म दर्ता र नागरिकता हुँदैन । यसले आमा र बच्चा दुवै समस्यामा पर्छन् ।

    कानुनले उमेर हद राखिदिएको कारणले यस्ता समस्या गाँउमा विकराल रुपमा बढिरहेको उनको जिकिर छ। केटाकेटी सानै उमेरमा भागेर बिहे गर्दाको परिणाम निकै भयावह भएको सांसद चौधरीको भनाइ छ । सानै उमेरमा विवाह गर्दा जीविको पार्जनको लागि सक्षम नहुँदा उनीहरु पछि परिवारको सम्पर्कमा आउँछन् । उनी भन्छिन्, ‘त्यसपछि परिवारले केटालाई जवरजस्ती करणीको मुद्धा हाल्दिछ । यसो गर्दा छोरा मान्छे अन्यायमा पर्छन् ।’अन्तरजातीय विवाहमा त झनै सानै उमेरको विवाहमा बलात्कारको मुद्धा लगाइएको छ । महिलाको हकको लागि पुरुषलाई पीडित बनाउन हुँदैन । ‘बिहे गर्दाको उमेर पो सानो हो, सहमतिमा भएको सम्बन्धलाई बलात्कारको मुद्धा लगाइदिने ?उनको प्रतिप्रश्न छ ।

    अनाहकमा पुरुष नफसुन् भनेर बिहेको उमेर घटाउनुपर्ने उनको तर्क छ । उता विवाहको उमेर घटाउनुपर्ने विषयमा अधिकारकर्मी मोहना अन्सारीले आपत्ति जनाएकी छन् । समाज गलत दिशातिर गैरहेकोमा यो निरर्थक बहस भएको उनको भनाइ छ । ‘१६ देखि २० वर्षको उमेर भनेको दक्षता निखार्ने उमेर हो,’ उनले भनिन् । यही उमेर समूहको मिहिनेतले युवाहरुको भविष्य निर्धारण गर्छ । दुई वर्ष घटाउने बहस भएको छ तर दुई वर्षले धेरै फरक पार्ने उनले तर्क गर्छिन् । उनी भन्छिन्, ‘१६ वर्षको उमेरमा एक युवाले एसइइ पास गर्छ, नागरिकता लिन्छ र २० वर्षमा स्नातक तह उत्तीर्ण गर्छ ।’

    जागिर खान कम्तिमा स्नातक तह उत्तीर्ण भएको हुनुपर्छ । विवाह एक ठुलो जिम्मेवारी हो । जिम्मेवारी थप भएकै कारणले कुनै युवा स्नातक तहको शिक्षा लिनबाट वञ्चित हुन नहुने अन्सारीको तर्क छ । दक्षिण एसियाको धेरै मुलुकमा विवाहको उमेर २० देखि २१ वर्ष छ । नेपालमा पनि २० वर्ष उमेर कायम गर्नुको मुख्य कारण कम उमेरमा गर्भवती हुँदा किशोरीहरुको मृत्युदरको संख्या अत्यधिक बढेकोमा घटाउनु थियो । तर सरकार विना छलफल बिहेको उमेर घटाउनमा उद्दत छ । ‘किशोर किशोरी खाली दुलाहा दुलहीमात्रै होइनन् ।’

    उनले भनिन् । शिक्षा, स्वास्थ्य, आत्मनिर्भरतालगायत शारीरिक, मानसिक, मनोसामाजिक, आर्थिक सशक्तीकरण हुन आवश्यक छ । मन लागेको बेलामा बिहे गर्न पाउनुपर्छ भन्ने जवाफमा उनले कसैले १२ वर्षको उमेरमा बिहे गर्छु भन्यो भने अनुमतिदिने हो ?भन्नेप्रश्न गर्छिन् । नागरिक स्वतन्त्रताको कुरा गरिरहँदा राज्यले कस्तो किसिमको नागरिक उत्पादन गर्ने भन्ने महत्वपूर्ण कुरा हो ? राज्यको लागि सक्षम नागरिक उत्पादन गर्ने कि असक्षम ? स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकता हो वा होइन? कम उमेरमा विवाह गर्दा गरिबी बढ्ने अन्सारीको भनाइ छ ।

    ‘किन कसैले कम उमेरमै बिहे गर्यो,कारण खोज्नुपर्छ । किशोर किशोरीलाई वैशले उन्मत्त भयो, बिहे गर्यो भनेर हल्का टिप्पणी गर्नु मिल्दैन । सरोकारवाला निकायले ‘बिहे गर्यो त गर्यो भनेर उम्किन मिल्दैन,’उनले भनिन् । ६-६ महिनामा कानुन परिवर्तन हुनु हुँदैन ।

    सबै कुराको लागि योग्य भएपछि बिहे गर्नुपर्छ भन्ने शिक्षा दिनुपर्छ । बिहेवारी कानुनलाई कार्यान्वयन गर्न नसक्नु सरकारको अकर्णमन्यता हो । भएको कानुन लागू गर्न नसक्ने, सरकारको क्षमतामाथि प्रश्न उठाउनुपर्ने अन्सारीको भनाइ छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology