Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

श्रीमतीलाई आगो लगाई हत्या प्रयास गरेको अभियोगमा एक जना पक्राउ

श्रीमतीलाई आगो लगाई हत्या प्रयास गरेको अभियोगमा एक जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १५, २०७९ बुधवार • १०:३३:१४ बजे
  • 691
    SHARES
  • श्रीमतीलाई आगो लगाई हत्या प्रयास गरेको अभियोगमा एक जना पक्राउ

    श्रीमतीलाई आगो लगाई हत्याको प्रयास गरेको अभियोगमा दाङ तुलसीपुरमा एक जना पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाका ४२ वर्षीय उज्ज्वल चनाराले २८ वर्षीया श्रीमती माया श्रेष्ठ चनारालाई पेट्रोल छर्केर आगो लगाई हत्याको प्रयास गरेपछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए। मायाको हात र खुट्टाका बिभिन्न भागमा आगोले पोलेको घाउखत छन्।

    images

    उनी हाल तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचाररत छिन्। प्रहरीका अनुसार घटना मंगलबार दिउँसोको हो। मायाका अनुसार उनका श्रीमानले दिउँसो आगो लगाउने भन्दै घरमा पेट्रोल छर्किएपछि मायाको शरीरमा पनि पेट्रोल छर्किएका थिए। श्रीमानले सलाई कोरेर आगो लगाउन खोजपछि आफूले सलाई खोसेर मुख भित्रै चपाएको मायाले बताइन्। 

    आफूले आगो लगाउन हुन्न भनेर रोक्न खोज्दा श्रीमानसँग धकेलाधकेल पनि भएको उनले बताइन्। त्यसपछि ग्याँस चुलो बालेर प्लाष्टिक सल्काएर श्रीमानले आफूमाथि आगो फालेर बाहिरबाट ढोकाको चुकुल लगाइदिएको मायाले दाबी गरिन्। ‘मेरो कपडामा ह्वारह्वार्ती आगो बल्न थालेपछि मेरो होस हवास उड्यो र कसो कसो गरेर म चिच्याउँदै छतमा पुगेँछु,’ उनले भनिन् ‘ त्यसपछि म छिमेकीको घरमा हाम फालेर सडकमा पुगेपछि आसपासका सबैले मिलेर आगो निभाइ दिनुभएको हो।’ मायाले यसअघि पनि पटक-पटक आफूलाई श्रीमानले यातना दिने तथा हत्याको प्रयास गरेको बताइन्।

    उनीहरूको ६ वर्षीया एक छोरी छिन्। उनी विद्यालयमा गएको समयमा घटना भएको प्रहरीले जनाएको छ । तुलसीपुरमा ब्यूटिपार्लर गर्दै आएकी मायाले छोरीको भविश्यका कारण आफू अनेक यातना सहेरै भए पनि बस्दै आएको बताइन्। यसअघि एक पटक श्रीमानले आफूलाई भारतको चन्ढीगढमा एक्लै छोडेर भागेको गुनासो गरिन्।

    प्रहरी नियन्त्रणमा रहेका उज्वलले भने श्रीमतीलाई नभई आफैंले आत्महत्या गर्न खोजेको दाबी प्रहरी समक्ष गरेको डिएसपी अर्यालले बताए। यसअघि मायाले अदालतमा समेत आफू र छोरीले खान लाउन नपाएको तथा श्रीमानले यातना दिएको भन्दै निवेदन दिएकी थिइन्।

    ‘पेशाले जेसिबीका चालक उज्वललाई यसअघि पनि प्रहरीले पक्राउ गरेको थियो,’ डिएसपी अर्यालले भने, ‘थुनामा राख्दा पनि उहाँले भित्रै कराउने चिच्याउने टाउको भित्तामा ठोक्ने जस्ता हर्कतहरु गरी हैरान पार्नुहुन्थ्यो।’ उज्वल र मायाको विवाद यसअघि पनि पटक-पटक प्रहरीमा आएको रेकर्ड रहेको डिएसपी अर्यालले जानकारी दिए।

    अस्पतालमा उपचाररत माया बुधबार डिस्चार्ज भएपछि घटनाबारे थप कुरा भन्न सकिने डिएसपी अर्यालले बताए। ‘उहाँ आज डिस्चार्ज भएपछि प्रहरीले घटनाबारे अथार्थ बुझ्नेछ,’ डिएसपी अर्यालले भने, ‘अहिले श्रीमान-श्रीमती दुबैका आ–आफ्नै दाबी छन्।’ पीडित मायाको जाहेरीको आधारमा कानुनी कारबाहीको पक्रिया अगाडि बढ्ने प्रहरीले जनाएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology