पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी–६ मा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । काठमाडौंबाट रौतहट जाँदै गरेको बस आज बिहान २ बजेतिर सडकमै पल्टिएर दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइतेमध्ये ७ जनालाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ । अन्यको गल्छी र आदमघाट अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
खाल्डाखुल्डीका कारण बस पल्टिएको प्रहरीको अनुमान छ ।
दाङमा दुर्घटना : दुईको मृत्यु
घोराहीमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक र साइकल यात्रीको मृत्यु भएको छ ।
घोराहीदेखि सौंडियारतर्फ जाँदै गरेको मोटरसाइकलले बिहीबार राति घोराही ७ बेसाईमा साइकललाई ठक्कर दिएको थियो । घटनामा साइकल यात्री घोराही–१५ का १७ वर्षीय रितेश केसी र मोटरसाइकल चालक सोही स्थानका ३५ वर्षीय गंगाबहादुर कुँवरको मृत्यु भएको हो ।
दुबै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको दाङ प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए । दुर्घटनामा मोटरसाइकलमा सवार घोराही–७ का बसन्त चौधरी र साइकल यात्री घोराही–१५ का विनोद भण्डारी घाइते भएका छन् ।
तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जानकारी दिएको छ ।