Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रामेछाप बस दुर्घटना : थप चारको मृत्यु, घाइतेको नामावली सहित

रामेछाप बस दुर्घटना : थप चारको मृत्यु, घाइतेको नामावली सहित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २१, २०७९ मंगलवार • १९:३९:५४ बजे
  • 799
    SHARES
  • रामेछाप बस दुर्घटना : थप चारको मृत्यु, घाइतेको नामावली सहित

    रामेछाप जिल्लाको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा आज बिहान भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये थप चारको मृत्यु भएको छ । उक्त दुर्घटनामा योसँगै अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । नौ जनाको घटनास्थलमा र चार जनाको काभ्रेस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य २२ जना घाइते छन् ।

    images


    सामान्य घाइते भएका गाडी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । सहचालक उपचारपछि घर फर्किएका छन् । अन्य २० जनाको उपचार जारी छ । जिल्ला प्रशासन कार्यालय रामेछापका अनुसार गाडीमा चालक सहचालकसहित ३५ जना रहेका थिए । उनीहरुमध्ये चालक भने गाडी घुम्तीबाट खस्नै लाग्दा फाल हानेका कारण ठूलो घाइते हुनबाट जोगिएका छन् । उनी आफैँ रामेछाप प्रहरीमा सम्पर्कमा पुगेको जनाइएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।

    आज बिहान झण्डै ७ बजेतिर रामेछापको सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाडौँ आउँदै गरेको बा३ख ८३९६ नंको यात्रुबाहक बस बिहान अन्दाजी १० बजेको समयमा जिल्लाको सुनापती गाउँपालिका–५ लुभुघाटमा दुर्घटनामा परेको थियो ।

     

    स्थानीयवासीले गाडीको ब्रेक फेल भएर दुर्घटना भएको दाबी गरेका छन् । प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले पनि गाडीको इन्जिन खराबीका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान रहेको जानकारी दिए ।

    मृतक नौ जनाको सनाखत

    मृत्यु भएकामध्ये नौ जनाको सनाखत भएको रामेछापका प्रजिअ पहाडीले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा जिल्लाको सुनापाती गाउँपालिका–५ का ६० वर्षीया ठूला तामाङ, सोही ठाउँका ३६ वर्षीया सञ्जु आले, ३६ वर्षका खडकबहादुर विक, २६ वर्षका समरिता तामाङ र २२ वर्षीया विपना तामाङ, काभ्रेका ६० वर्षीया शुभलक्ष्मी मानन्धर, सोही जिल्लाका २७ वर्षीय कमल तामाङ, काभ्रे पाँचखालका ४० वर्षीय कुलबहादुर विक र सोही ठाउँका १८ वर्षीय सुदीप गजमेर रहेका छन् ।

    घाइतेको नामावली

    दुर्घटनामा रामेछाप जिल्ला सुनापती गाउँपालिका–५ बस्ने वर्ष ४५ का लालसिङ तामाङको टाउकोमा गम्भीर चोट लागि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यस्तै वर्ष ५८ का मानबहादुर तामाङको दुवै खुट्टा र टाउकोमा चोट लागेको छ भने सोही ठाउँ बस्ने वर्ष ३४ का आशिष तामाङको मुख र टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

    सोही ठाउँ बस्ने वर्ष ४५ का जुना मगर, वर्ष ४५ का रामबहादुर श्रेष्ठ, वर्ष ३५ की शोभा श्रेष्ठ, वर्ष ५८ का गोमा खड्का, वर्ष २४ का बुद्ध तामाङ, वर्ष ६२ की अमिका खड्का, वर्ष ४५ की कान्छीमाया तामाङ, वर्ष २४ का गङ्गा घले, वर्ष ५६ का बुद्धिलाल श्रेष्ठ, वर्ष ७ का बुद्ध विक, वर्ष ५५ का चन्द्र श्रेष्ठ, वर्ष ८० का ठूलोसिंह तामाङ, वर्ष १६ की सरस्वती खाती, वर्ष ४० की डम्बरकुमारी खाती, वर्ष ४९ की कान्छीमाया तामाङ र वर्ष २३ की सविना घिसिङ पनि घाइते भएका छन् ।

    यस्तै सर्लाही जिल्ला लालबन्दी ४ बस्ने वर्ष ३८ को अमर चौधरीको भने हातमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बनेपास्थित शिर मेमिरियल अस्पतालमा उपचारपछि सुनापती–५ बस्ने वर्ष १९ का सहचालक विष्णुराम खड्काको भने दाहिने हात र खुट्टामा चोट लागेकोमा उपचारपश्चात् घर फर्किएका छन् ।

  • सम्बन्धित विषय:

  • # घाइतेको नामावली सहित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology