Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

जथाभावी खनिएका मोटरबाटोका कारण म्याग्दीमा पहिरोले रित्तिँदै बस्ती

जथाभावी खनिएका मोटरबाटोका कारण म्याग्दीमा पहिरोले रित्तिँदै बस्ती

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३, २०७९ मंगलवार • १६:४२:३० बजे
  • 1.0K
    SHARES
  • जथाभावी खनिएका मोटरबाटोका कारण म्याग्दीमा पहिरोले रित्तिँदै बस्ती

    जथाभावी खनिएका मोटरबाटोका कारण बाढीपहिरो र प्राकृतिक विपद्का समस्या बढ्दै जान थालेपछि म्याग्दीका थुप्रै बस्ती रित्तिँदै गएका छन् । जिल्लाको बेनी नगरपालिका– ३ तोराखेतको बस्ती पनि अहिले सुनसान छ । केहीवर्ष अगाडिसम्म निकै चहलपहल हुने तोराखेत गाउँ अहिले झाडीमा परिणत हुन थालेको छ ।

    images

    उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकामा पर्ने रायखोर गाउँको अवस्था पनि यस्तै छ । गाउँको पुछारमा भीषण पहिरो छ । शिरान र गाउँको छेउछाउबाटसमेत पहिरो खस्न थालेपछि यो गाउँका कतिपय मानिस विस्थापित भएका छन् भने गाउँमा रहेका पनि पानी पर्दा अनिदा आँखा बनाउँदै बस्न बाध्य भएका छन् । रघुगङ्गा गाउँपालिकाका आठ वडामा साना ठूला गरी २१६ पहिरा रहेका र ती पहिराका कारण बस्ती नै जोखिममा छन् ।

    पहिरो रोकथाम तथा नियन्त्रणका लागि पहिरोको डिपीआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताएका छन् । गाउँपालिकाका कुइनेमङ्ले-८ चौरखानी, चिमखोला-७ मालाङ, पाखापानी-६ रायखोर र दग्नाम-४ को पहिरो रोकथामलाई मुख्य प्राथमिकतामा राखिएको अध्यक्ष भण्डारीले बताए ।

    यसैगरी रघुघाट गलेश्वर, तिलकेनी, कुइने, चौरखानी, धूपीचौर, अर्कला, बेग, दुलेपानी, सतिपोखरी, खौरेट, रोटेपानी, रिसिनचौतारी, बूडिचौरलगायतका बस्ती बाढीपहिराको उच्च जोखिममा छन् । ती बस्तीको संरक्षणका लागि स्थानीय तहले प्राथमिकताका साथ काम गर्ने र थप बजेटका लागि प्रदेश वा सङ्घ सरकारसँग माग गर्ने अध्यक्ष भण्डारीले जानकारी दिए । यस्तै रघुगङ्गा–३ गलेश्वरको राहुघाट बस्ती पहिरोको जोखिममा छ ।

    गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा गरिएको लापबाहीले निम्तिएको पहिरोले पुरिने जोखिम बढेको हो । बस्तीमाथिको पाखोमा जथाभावी सडक खनेपछि पहिरो निम्तिएर गलेश्वरपारिको ३० घरपरिवार जोखिममा रहेको स्थानीयवासी धर्म रोकाले बताए । ‘पानी पर्न थालेपछि यहाँका बासिन्दा राति सुत्न सक्दैनन् ।

    विकासका नाममा निम्तिएको विनाशका कारण आफ्नो थातथलो छोड्नुपर्ने अवस्था आएपछि यहाँका बासिन्दा चिन्तित छौँ’, उनले भने, ‘कमजोर भू-भागमा सडक बनाउन डोजर प्रयोग गरिँदा झन जोखिम बनेको छ । जथाभावी भत्काउँदा त्यसपछि संरक्षणका लागि पर्खाल र नाली समयमै नबनाउँदा पूरै पाखो खस्ने अवस्थामा छ ।’ त्यसैगरी बेनी नगरपालिका- ३ को तोराखेत गाउँ पनि पहिरोका कारणले रित्तिएको छ ।

    एक दशक अघिसम्म ७० घरपरिवारको बसोबास रहेको तोराखेतमा अहिले १० घर परिवारको मात्र बसोबास रहेको छ । विसं २०६० देखि तोराखेतमा पहिरो चल्न सुरु भएको स्थानीय अगुवा डिलबहादुर सापकोटाले बताए । पहिरोकै कारण तोराखेतबाट विस्थापित भई बगरफाँटमा बस्दै आउनुभएका सापकोटाका अनुसार त्यसपछि लगातार रुपमा पहिरो चल्दै आएकोले तोराखेतका बासिन्दा भकुण्डे, फाँपरखेत र बगरफाँटमा बसाइँ सरेका छन् ।

    पहिरोले त्रासकाबीच पनि आफू गाउँमै बस्न बाध्य रहेको स्थानीयवासी कुन्दा परियारले बताए । ‘पहिले गाउँमा धेरै घर थिए, मान्छेहरु पनि धेरै नै बस्ने गर्थे, पहिरोका कारण धेरैको धन सम्पत्ति नोक्सान भयो, अहिले पनि गाउँ जोखिममै छ’, परियारले भने । बस्ती माथिबाट बिना इञ्जिनीयरिङ खनिएको सडकका कारण बस्ती नै पहिरोको उच्च जोखिममा परेको स्थानीयवासीको भनाइ छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology