नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दाशानायकेले पदबाट राजीनामा दिएका छन् ।
एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका दाशानायकेले आज पत्रकार सम्मेलन गर्दै राजीनामा दिएका हुन् । राष्ट्रिय टिमको पछिल्लो प्रदर्शन निरन्तर खस्किँदा प्रशिक्षक दाशानायकेले पद छाड्ने घोषणा गरेका हुन् ।
प्रशिक्षक दाशानायकेले क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका थिए । पुबुदुले पहिलोपल्ट सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण संहालेका थिए ।
त्यस समयमा नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा गरेको थियो भने सन् २०१४ मा वंगलादेशमा आयोजित टी–२० विश्वकपमा ऐतिहासिक छनोट भएको थियो ।