इलाका प्रहरी कार्यालय बनेपाले प्रतिबन्धित लागुऔषध कारोबारमा संलग्न पाँच जनालाई शनिबार राति पक्राउ ग–यो । प्रहरीले भारतबाट वीरगञ्ज हुँदै काभ्रेको बनेपामा लागुऔषध कारोबारमा संलग्न भएका उनीहरुलाई पक्राउ गरेको हो ।
लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न बाराको पिपरपाती गाउँपालिका–४ का समसोदिन मियाँ, बाराकै डुमरवाना–४ की सङ्गीता चौधरी, बनेपा नगरपालिका–१० का सविन हुमागाईंलाई शनिबार बनेपा नपा–१० बाट पक्राउ गरिएको इप्रका बनेपाका प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए ।
उहाँका अनुसार सोही आरोपमा बाराको कलैया उपमहानगरपालिका–१२ घर भई हाल वीरगञ्ज बस्ने पवनकुमार शाह र वीरगञ्ज महानगरपालिका–२४ का शेषनाथ शाहलाई शनिबार राति नै वीरगञ्जबाट पक्राउ गरिएको प्रहरी निरीक्षक थापाले बताए । प्रहरीका अनुसार बनेपा नगरपालिका–१० मा लागुऔषधको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
बनेपामा पक्राउ परेकाबाट प्रहरीले तीन सय दुई एम्पुल डाइजेपाम, तीन सय दुई एम्पुल फेनेर्गन र तीन सय दुई थान नोफिन गरी कूल नौ सय छ थान लागुऔषध बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानबाट बनेपामा पक्राउ परेको सङ्गीताले वीरगञ्जबाट लागुऔषध ल्याई काठमाडौँमा मियाँसँग भेट भएको र मियाँले बनेपाका सविनलाई लागुऔषध दिन आएको खुलेको छ ।
शेषनाथले भारतबाट लागुऔषध वीरगञ्ज ल्याउने र वीरगञ्जमा शाहलाई दिने गरेको प्रहरी निरीक्षक थापाले बताए । उनका अनुसार पक्राउ परेका पाँचैलाई आइतबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । यो घटनामा प्रहरीले छोटो समयमा भारतबाट बनेपासम्म लागुऔषधको कारोबार गर्ने समूहलाई छोटो समयमा नै पक्राउ गर्न सफल भएको बताइन्छ ।
यसअघि गत वैशाखमा लागुऔषध प्रयोगकर्ता चार चालकलाई काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गका जाँचका क्रममा प्रहरीले प्रक्राउ गरेको थियो । यस्तै प्रहरीले सुराककै आधारमा गत वर्षको माघमा चिकित्सकको आधिकारिक सिफारिसबिना प्रतिबन्धित औषधि (नसालु पदार्थका रुपमा सेवन गरिने) बिक्री गर्ने पनौती नगरपालिका–२ स्थित एक फार्मेसी सञ्चालकलाई पक्राउ गरेको थियो ।
साथै उनको फार्मेसीबाट विभिन्न प्रकारका सात हजार एक सय ३८ प्रतिबन्धित लागुऔषध ट्याब्लेट बरामद गरिएको थियो ।
यसअघि प्रहरीले विसं २०७६ फागुन दोस्रो साता पनौती नपा–६ स्थित एक घरमा डेरा गरी बस्ने ३२ वर्षीया महिलाको कोठाबाट लुकाइछिपाइ बिक्री वितरणका लागि दराजमा कपडाले बेरेर राखेको प्रतिबन्धित औषधि ‘नाइट्राभेट–१०’ २७९ ट्याब्लेट बरामद गरेको थियो । प्रहरीले सो घटनामा पनि सुरकाकै आधारमा महिलालाई पक्राउ गरेको जनाएको थियो ।