Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पहिरोका कारण नासिँदैैछ रुप्सेको सौन्दर्य

पहिरोका कारण नासिँदैैछ रुप्सेको सौन्दर्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १७, २०७९ मंगलवार • १९:०४:३२ बजे
  • 652
    SHARES
  • पहिरोका कारण नासिँदैैछ रुप्सेको सौन्दर्य

    अन्नपूर्ण चक्रीय पदमार्गको प्राकृतिक रुपमै आकर्षक पर्यटकीयस्थल रुप्से झरनाको सौन्दर्य बर्सेनी आउने बाढीपहिरोको कारण नासिँदै जान थालेको छ ।

    images

    उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा पर्ने यो झरना अत्यन्तै आकर्षक र मनमोहक थियो । तर, विसं २०७७ साउन ५ गते सोमबारको भीषण वर्षापछि आएको बाढीले रुप्सेको सौन्दर्य विगारेपछि त्यसयता झरनाको प्राकृतिकस्वरुप नासिँने क्रम बढ्दै गएको हो । समुद्री सतहबाट झण्डै एक हजार आठ सय मिटरको उचाइको यो झरना कालीगण्डकीको खोंचले बनाएको संसारकै गहिरो अन्धगल्छीदेखि केही माथि रहेको छ ।

    यस झरनाले हुलाक टिकटमासमेत स्थान पाइसकेको छ । हिमालपारीको जिल्ला मुस्ताङ जाने बेनी–जोमसोम सडकखण्ड अन्तर्गत पर्ने यस अन्धगल्छीमा मुस्ताङ आवतजावत गर्ने पर्यटक पुगेर अवलोकन गर्ने गर्दछन् । विश्वमै शालिग्राम पाइने एकमात्र पवित्र कालीगण्डकी नदीले निर्माण गरेको अन्धगल्छीको गहिराई ६ हजार ९६७ मिटर रहेको छ ।

    संसारको सातौँ अग्लो चुचुरो धौलागिरी र अन्नपूर्ण हिमालको बीचमा अवस्थित यो गल्छी समुद्री सतहबाट एक हजार २०० मिटरको उचाइमा अवस्थित छ । गल्छीको अवलोकन गर्न दैनिक रुपमा आन्तरिक एवं बाह्य पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।

    म्याग्दी सदरमुकाम बेनीबजारदेखि ३० किलोमिटर उत्तरमा पर्ने रुप्से तथा अन्धगल्छी पुग्न यातायातका साधनमार्फत करिब तीन घण्टा र पैदल करिब एक दिनको यात्रा तय गर्नुपर्छ । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत पर्ने अन्धगल्छी र रुप्से झरनामा बेनीबाट सवारीसाधनमार्फत तीन घण्टामा सजिलै पुग्न सकिन्छ ।

    मुस्ताङ जाने पर्यटक सवारी रोकेर यस झरनामा फोटो खिच्छन् । रुप्सेमा रमाउने योजना बनाएका हजारौँ आन्तरिक तथा बाह्य पर्यटकले २०७७ साउनयता भने यसको पुरानो सौन्दर्यलाई देख्न पाएका छैनन् । विसं २०७७ साउनमा रुप्सेमा आएको बाढीले झरनाको सौन्दर्य मात्र होइन एक होटेल, पुल र स्काभेटर समेत बगाएको थियो ।

    झरनामा आएको बाढीले गोल्ड ल्याण्ड वाटर फल होटेल, गजुरमुखी कम्पनीको एउटा स्काभेटर मेसिन, बस र पुल बगाएपछि त्यस क्षेत्रको सुन्दरता नै उजाडिएको स्थानीयवासी कृष्णबहादुर पुनले बताए । पुनका अनुसार अब रुप्से झरनालाई पुरानै स्वरूपमा फर्काउन निकै श्रम र लगानीको आवश्यक पर्ने भएको छ ।

    अहिले रुप्से झरना उजाड र कुरुप बनेको उनको भनाइ छ । विसं १९७५ मा ७५ पैसाको हुलाकी टिकटमा रुप्सेको फोटो टाँसिएको थियो । अहिले प्रचलनमा नरहे पनि रुप्सेको प्रचारप्रसार त्यतिखेर देखिनै भएको स्थानीय बृद्धले बताएका छन् ।

    ‘रुप्से झरनामा रमाउन गण्डकी प्रदेशबाट मात्रै होइन देश विदेशबाट आएका मानिसकोसमेत भीड हुने गर्दथ्यो’, दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले भने, ‘पुलनजिकै गाडीको भीड हुन्थ्यो, झरनाको दायाँबायाँको भागमा मानिस रमाउँदै तस्वीर लिन तछाडमछाड गर्दथे, अब त्यो सबै एकादेशको कथा जस्तै बन्यो ।’

    विसं २०७५ यता हिमाली जिल्ला मुस्ताङमा स्थलमार्ग हुँदै भ्रमणमा जाने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य रुपमा बढेको थियो । ती पर्यटक रुप्से झरना देखेर लोभिने गरेका थिए । तर, बाढीले रुप्सेको चीरहरण गरिदिएपछि सबैको सपना भताभुङ्ग भएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology