Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीमा पहिरोले ६ परिवार विस्थापित,दुखुखोलाको पुल बन्द

म्याग्दीमा पहिरोले ६ परिवार विस्थापित,दुखुखोलाको पुल बन्द

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २०, २०७९ शुक्रवार • १०:०४:५३ बजे
  • 1.0K
    SHARES
  • म्याग्दीमा पहिरोले ६ परिवार विस्थापित,दुखुखोलाको पुल बन्द

     मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिरोका कारण ६ परिवार विस्थापित भएका छन् ।

    images

    छिपछिपेमा ५ र महभिरमा १ परिवार विस्थापित भएका हुन् । घर जोखिममा परेकालाई सुरक्षित ठाउँमा सारिएको कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीले जानकारी दिए ।

    ‘छिपछिपेका केशबहादुर गोतामे, नरवीर गोतामे, तिर्खबहादुर गोतामे, तुलाराम गोतामे र रमेश गोतामेको परिवारलाई आफन्तकोमा राखिएको छ’, उनले भने, ‘महभिरका टेकबहादुर विकका परिवारलाई सामुदायिक भवनमा अस्थायी बसोबासको व्यवस्था मिलाएका छाैं।’

    दुखुखोलाको पुल बन्द

    म्याग्दीको मङ्गला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखुखोलाको सडक पुलमा आवतजावत बन्द गरिएको छ । दुखुखोलामा आएको बाढीले कटान गरेर पुल, पिलर र पहुँचमार्ग संरक्षणका लागि निर्माण गरिएको ग्यावियन पर्खाल बगाएको छ । पुलको मालिकातर्फको पिलरको जगभन्दा गहिरो भएर खोला बग्न थालेको छ ।

    मालिकातर्फको पहुँचमार्ग साँघुरिएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले जोखिम भएकाले दुखुखोलाको पुलमा आवतजावत बन्द गरिएको बताउनुभयो । पुलका बारेमा थप अध्ययन गर्न मन्त्रालयबाट विज्ञ टोली बोलाएको अधिकारीले बताउनुभयो ।

    पुलमा आवतजावत बन्द गरिँदा मालिका र धवलागिरि गाउँपालिका सिधा यातायात सम्पर्क विच्छेद भएको छ । पुल संरचनाका लागि मालिका गाउँपालिकाले डोजर परिचालन गरेर नदी कटान नियन्त्रणको काम थालेको मालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताउनुभयो ।

    बेनी–दरवाङ मङगला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक हो । पूर्वाधार विकास कार्यालयले २०७६ सालमा दुखुखोलामा रु दुई करोड २५ लाख ६० हजारको लागतमा २२ मिटर लामो पुल निर्माण गरेको होे । पुल तल दुखुखोलाको बाढीले मङ्गला गाउँपालिका–२ सहश्रधाराको बस्तीतर्फ कटान गर्न थालेको छ । करिब २५ घर रहेको सहश्रधाराका बासिन्दाले कटान नियन्त्रणको माग गरेका छन् । बेनी दरवाङ सडकको फापरखेत घुमाउनेभिर र बाङ्गापहिरोको पहिरो पन्छाएर सो क्षेत्रमा यातायात सञ्चालन गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology