म्याग्दी - कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडक खण्ड तीन दिनपछि हिजाे बेलुकादेखि सञ्चालनमा आएको छ ।
काभ्रेभिरमा गएको सुक्खा पहिराे र घोप्टे ओडारमा सडक भासिएका कारण गएकाे साेमवारदेखि याे सडक खण्ड अवरुद्ध भएको थियो । सडक सञ्चालनमा आएसँगै गाडी ओहोरदोहोर हुन थालेका बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।
पहिराेले काभ्रेभिरमा तीन मिटर सडक पुरिएको थियो भने घोप्टेभिरमा करिब ५० मिटर सडक भासिएको थियो । अहिले बीच बाटोमा रोकिएका गाडी गन्तव्यतर्फ लागेका उहाँले बताउनु भयाे ।
मौसममा सुधार आएपछि बुधवारदेखि सडक मर्मतको काम थालिएको थियाे । यसैबीच बाढीले म्याग्दीको बेगखोलामा अवरुद्ध भएको सडक पनि खुलाइएको छ ।
वर्षातकाे समयमा बेनी–जोमसोम–कोरला सडक खण्डकाे विभिन्न ठाउँ बाढीपहिराे कारण अवरुद्ध हुने गरेको छ । बेनी–जोमसोम ७६ किलाेमिटर सडकको म्याग्दी खण्डमा बर्खाको समयमा बाढीपहिराेको उच्च जोखिम छ ।
म्याग्दी–काभ्रेभिर सडकको सिमानाको बाँदरजुँगे भिर आसपासमा छिनछिनमा खस्ने पहिराेले यात्रु जोखिममा पर्ने गरेका छन् ।