Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दलित भएकै कारण सदरमुकाममा डेरा पाउन मुस्किल

दलित भएकै कारण सदरमुकाममा डेरा पाउन मुस्किल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २४, २०७९ मंगलवार • १७:३६:०४ बजे
  • 2.7K
    SHARES
  • दलित भएकै कारण सदरमुकाममा डेरा पाउन मुस्किल

    नेपालको संविधान २०७२ मा जातीय भेद्भाव तथा छुवाछुत अन्त्यको घोषणा गरिएको छ । कानुनमा सबै भेद्भाव अन्त्य भएपनि व्यवहारमा भने अझै ज्यूँका त्यूँ रहेको पाइएको छ । पर्वत सदरमुकाम कुश्मामा दलित समुदायका नागरिकलाई डेरा पाउन मुस्किल भएका उदाहरण धेरै छन् ।

    images

    आइतबार सशस्त्र प्रहरी बल २५ नम्बर बाहिनीका एक जवान कोठा खोज्नको लागि दिनभरि बजारमा भौतारिरहे । बडागाउँदेखि जिरो हुँदै खरियासम्म पुग्दा कोठा नपाएपछि उनी निराश हुँदै फर्किए । श्रीमती र दुई छोराछोरीसँगै बस्दै आएका जवान आफू दलित भएकै कारण कोठा नपाएको गुनासो गर्छन । ‘कोठा खोज्नको लागि दिनभरि बजारमा भौतिरिरहेँ, राम्रो पैसा तिर्छु भन्दा पनि विभिन्न बहाना बनाएर कोठाभाडामा दिँदैनन्’, उनले भने ।

    ‘अधिकांश ठाउँमा डेरा खोज्न जाँदा घरधनीले कोठा त छ, तर जात के होला ? भनेर सोध्छन् । यो प्रश्न सुन्ने वित्तिकै कताकता मनमा नमिठो लाग्छ’, उनले भने । सशस्त्र प्रहरीका जवान मात्र होइन मोदी गाउँपालिका-५ बाजुङ घर भएका इन्दिरा नेपालीले पनि यस्तै समस्या भोगेको बताउँछन् ।

    कोठा चाहिएर खोज्न जाँदा प्रत्येकजसो घरमा सुरुमै थर (जात) सोध्ने गरेको उनको गुनासो छ । ‘जहाँ कोठा खोज्न गए पनि सुरुमै घरबेटीले नानी कुन थरको हो, भनेर सोध्छन्, म सार्की हो भन्ने वित्तिकै कोठा त छैन नानी भन्छन्’, उनले भने । अध्ययनका लागि कुश्मा आएका फलेवास नगरपालिकाका सुमित परियारले दुई हप्ताको खोजीमा बल्लतल्ल कोठा पाएको बताए ।

    दलित भएकै कारण आफूले सहज रुपमा कोठा नपाएको उनको गुनासो छ । धेरै ठाउँमा कोठा खोज्न जाँदा विभिन्न बहाना बनाएर नदिने गरेको उनको भनाइ छ । ‘बजार भन्ने वित्तिकै शिक्षित र सचेत मानिसको बसोबास गर्ने ठाउँलाई बुझिन्छ । तर, यहाँका मानिसको व्यवहार फरक छ’, उनले भने । हुन त दलित समुदायका लागि यो नौलो समस्या होइन ।

    आर्थिक, सामाजिक र सांस्कृतिरूपमा सदियौँदेखि पछाडि पारिएको उक्त समुदाय पहिलेदेखि नै जातीय भेदभाव तथा छुवाछूतको मारमा पर्दै आएको छ । दलित अधिकारकर्मी जीतबहादुर नेपालीले दलित समुदायले अझैपनि जातकै कारण कोठा नपाउनु लज्जाको कुरा भएको बताउनुभयो । उनले भने, ‘जातीय विभेद तथा छुवाछुतविरुद्ध सबैले आवाज उठाए मात्र यसको अन्त्य हुनेछ ।’

    जातीय भेद्भाव गर्न हुँदैन भन्ने कुरा संविधानमानै उल्लेख गरिए पनि जातीय भेद्भाव तथा छुवाछूत सम्बन्धिका घटना उल्लेख्य मात्रामा सार्वजनिक हुनसकेका छैनन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जातीय विभेद्का घटनासम्बन्धी एउटा पनि उजुरी नआएको बताए । उनले भने, ‘मेरो कार्यकालमा एउटा पनि उजुरी आएको छैन, मोदी बाजुङबाट एउटा मौखिक उजुरी आएको थियो, हामीले दुवै पक्षलाई बोलाएर छलफल गराएपछि सहमति भएको थियो ।’

    बुढाथोकीले जातीय विभेद् र छुवाछुत सम्बन्धिका उजुरी आएमा राज्यले निर्माण गरेको ऐन कानुन अनुसार दायित्व पूरा गर्न प्रहरीले कुनै कञ्जुस्याइँ नगरेको बरु उजुरी नै नआउनु चुनौती रहेको बताए । नेपालको संविधानको धार २४ मा छुवाछुत तथा भेद्भावविरुद्धको हकको उल्लेख गरिएको छ ।

    जातीय भेद्भाव तथा छुवाछुत (कसूर र सजाय) ऐन, २०६८ कार्यान्वयनमा रहेको छ । संविधान तथा कानुनबमोजिम भेद्भाव तथा छुवाछुतविरुद्धका अधिकार स्थापित गरिएका छन् । साथै भेद्भाव तथा छुवाछुत कार्यलाई कसूरको रुपमा परिभाषित गरी दण्डसजायको व्यवस्था समेत गरिएको छ ।

    जातीय भेद्भाव तथा छुवाछुतको कसूर गर्नेलाई अपराधको प्रकृतिबमोजिम अधिकतम तीन महिनादेखि तीन वर्षसम्म कैद वा रु एक हजारदेखि २५ हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ । त्यस्तै सार्वजनिक पद धारण गरेको व्यक्तिले जातीय भेद्भाव तथा छुवाछुतको कसूर गरेमा निजलाई ५० प्रतिशत थप सजाय हुन्छ ।

    जातीय भेद्भाव वा छुवाछुत गर्न मद्दत गर्ने, दुरुत्साहन गर्ने, उक्साउने वा उद्योग गर्ने व्यक्तिलाई कसूरदारलाई हुने सजायको आधा सजाय हुने व्यवस्था छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology