काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ , भक्तपुर र ललितपुर)मा जारी निषेधाज्ञामा केही खुकुलो हुने भएको छ। लकडाउनको मोडालिटी परिवर्तन गरेर अनुमोदनका लागि मंगलबार नै तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुमोदनका लागि गृहमन्त्रालयमा पठाएका छन्।
गृहबाट अनुमति आउनसाथ बुधबार अपरान्हसम्म तीनै जिल्ला खुकुलो व्यवस्थासहितको निषेधाज्ञा जारी गर्नेछन्।
प्रस्ताबित लकडाउनको नयाँ मोडालिटी अनुसार तत्काल सार्वजनिक यातायात नचल्ने र निजी सवारी साधनलाइ जोर विजोर प्रणलीबाट चल्न दिने, दैनिक उपभोग्य समानका पसल पनि समय तोकेर सञ्चालन गर्ने तथा निजी कार्यालय, उद्योग एवम् कलकारखाना स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने रहेको छ ।
तर होटल रेष्टरेन्ट,सिनेमा हल, क्लब तथा अन्य मनोरञ्जन स्थल भने खुला गरिने छैन।
काठमाडौं उपत्यका नगरपालिका मेयर फोरम, उद्योगी सुरक्षा निकायसँग मंगलबारको भर्चुअल छलफलपछि काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञाको बिषयमा औपचारिक छलफल गरेर गृहसमक्ष खुकुलो पार्न प्रस्ताव गरेका हुन्।
निरन्तरको लकडाउन समाधान नभएको तर्क गर्दै उद्योगी तथा व्यवसायीले निषेधाज्ञा खकुलो नबनाए अवज्ञा गर्ने चेतावनी दिदै आएका छन्।
उपत्यकाको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले भदौ २ गतेको पहिलोपटक एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको थिए।
भदौ १० गतेको निर्णयानुसार यही भदौ १७ गते राति १२ बजेसम्मका लागि उक्त आदेशलाई निरन्तरता दिइएको थियो। त्यसलाई कायम राख्दै भदौं १७ गते फेरि भदौं २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो।
मेयर फोरमको मंगलबार बसेको बैठकले काठमाडौं उपत्यकाका सबै नाकामा सेनासहितको कडा सुरक्षा व्यवस्था गरेर उपत्यकाभित्रको निषेधाज्ञालाई विस्तारै खोल्नुपर्ने सुझाव दिएको थियो।