बाढीपहिरोले बर्सेनि ठूलो जनधनको क्षति हुँदै आएको छ । बेपत्ता भएकाहरू वर्षौंसम्म नभेटिने गरेको तथ्य फेला परेको छ ।
बाढीले बगाएकाहरू कतिपय बाढीमै बिलाएका छन् । पहिरोले पुरिएकाहरू पहिरोभित्रै हराएका छन् । यसले गर्दा परिवारका सदस्यलाई पीडा हुने गरेको छ । आफन्तले मृतकसरह मानेर काजकिरिया गरे पनि आउने आशा भने मार्न छाड्दैनन् ।
२०६८ सालयता बाढीपहिरोमा परी ८ सय २८ जना बेपत्ता भएका छन् । सबैभन्दा बढी २०७१ सालमा २ सय ६९ जना बेपत्ता भएका थिए। २०७० मा १ सय ६४, २०६८ मा १ सय २९ जना हराएको गृह मन्त्रालयको तथ्यांक छ ।
मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका इन्चार्ज एवं उपसचिव मुरारी अवस्थीका अनुसार यो वर्ष बाढीपहिरोबाट ३ सय जनाको मृत्यु भएको छ । ८९ जना अझै बेपत्ता छन् । बागलुङको ढोरपाटनस्थित भुजी खोलामा हालै आएको बाढीमा १६ जना बेपत्ता छन् । २२ जनाको शव भेटिएको छ ।
यही वर्ष सिन्धुपाल्चोकका लिदी, बाह्रबिसे, भोटेकोसीलगायत स्थानमा बाढीपहिरोले २४ जनालाई बेपत्ता बनाएको छ । सिन्धुपाल्चोकमा यही वर्ष ५६ जनाको मृत्यु भएको छ । संखुवासभाको सिलिचोङमा पहिरोमा परेका ११ जना बेपत्ता छन् । अछामको रामारोशनमा ९ जनालाई भेटिएको छैन । म्याग्दीमा ४, कालीकोटमा ६, जाजरकोटमा ५ जना बेपत्ता छन् । काभ्रेपलाञ्चोक, सुनसरी, सिरहा, गोरखा, तनहुँ, स्याङ्जा, गुल्मी, सल्यान, बझाङमा १÷१ जना बेपत्ता छन् । यो वर्ष बेपत्ता भएकाहरू अझै भेटिने सम्भावना रहेको उपसचिव अवस्थीले बताए ।
सिन्धुपाल्चोकमै २०७१ सालमा जुरेको बाढी र पहिरोले १ सय ६० जनालाई बगाएको थियो । जसमा २५ जनाको शव भेटिएको थियो । बाँकी अहिलेसम्म बेपत्ता छन् । २०७१ साउन १७ गते मांखा र राम्चेको सीमा क्षेत्र जुरेमा पहिरो गएको थियो ।
बेपत्ता भेटिने सम्भावना न्यून हुन्छ । १० दिनदेखि एक महिनासम्म खोजतलास गरिन्छ । नभेटिए बेपत्ताको सूचीमा राख्ने गरेको जनाइएको छ । ‘१०–१५ दिनदेखि १ महिनासम्म खोजिन्छ’, उनले भने, ‘नभेटिए बेपत्ता सूचीमा राख्छौं ।’
३५ दिनपछि शव नभेटिए मृतकसरह सुविधा दिने निर्णय पनि सरकारले गरेको छ । स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसमा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी मृत्युसरह राहत उपलब्ध गराउने नीतिगत निर्णय भएको उनले सुनाए । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।