फाइल फोटो
महाकाली नदीको भुजेला घाटमा पुजारीले तीन व्रत बसेका दलित समुदायका महिलाहरूको पूजापाठ गर्न अस्वीकार गरेका छन् । गोत्र सोधेका पुजारीले उनीहरू दलित समुदायका भएको थाहा पाएपछि पूजापाठ गर्न नसकिने बताएका हुन् ।दलित भएको थाहा पाएर पूजापाठ गर्न नमानेपछि केही समय महिलाहरूसित विवाद पनि भएको छ ।
विवाद बढेपछि नजिकबाट अन्य व्रतालु पनि आउन थालेपछि पुजारी पूजा स्थल छाडेर भागेका छन् ।पुजारीले जातीय विभेद गरी पूजापाठ गर्न अस्वीकार गरेपछि उनीहरू प्रहरी बोलाउन नजिकको टेन्टसम्म पुगेका छन् । प्रहरी नआउँदै पुजारी त्यहाँबाट भागेर गएका हुन् ।
‘पहिला त्यहाँ एक जना आन्टीलाई ती पुजारीले म पूजा गरी दिन्छु सबैलाई बोलाएर ल्याउनु भन्यो, वहाँले आएर त्यहाँ खाली छ, म पूजा गरी दिन्छु भन्दै छन् त्यहीँ जाऊ भनेपछि त्यहाँ गयौ’ भीमदत्त नगरपालिका ५ नवगाउँकी सज्नु नेपालीले भनिन्,‘त्यहाँ गई सकेपछि पुजारीले गोत्र सोध, हामीले पनि भन्यौ, पुजारीले के हो के हो भने, त्यसपछि मैले हामी दमाई हौ भनेपछि म पूजा गर्दैनौ भनेर कराउन थाले ।’
पुजारीले पूजा गर्न अस्वीकार गरेपछि नेपाली लगायतका महिलाहरूले किन नगर्ने भनेर पुजारीलाई सोधेका छन् । पुजारीले भगवान्ले नै जात छुटाएकाले आफूले नगर्ने भन्ने जवाफ दिएका छन् । त्यसपछि पुजारी र महिलाहरूबिच विवाद भएको भिडियो समेत बाहिर आएका छन् ।पुजारीले पूजापाठ गर्न नमानेपछि महिलाहरू उनीसित आक्रोशित भएका छन् ।
त्यसपछि उनीहरू प्रहरी बोलाउन गएपछि पुजारी भागेका छन् ।‘विवाद भएपछि अन्यत्रबाट पनि मान्छे आए, हाम पनि प्रहरी बोलाउन गयौ, त्यसपछि ती एकाएक त्यो ठाउँ छाडेर भागे’ नेपालीले भनिन् ।हरि तालिका तीजको व्रत बसेका महिलाहरू ऋषि पञ्चमीमा नुहाउन र पूजापाठका लागि महाकाली नदी जाने गरेका छन् ।
ऋषि पञ्चमीका दिन महाकाली व्रतालु महिलाको भीड लाग्ने गरेको छ । यस पटक भाइरल रोड नजिक व्रतालु महिलाका लागि स्नान गर्न व्यवस्था गरिएको छ ।पुजारीले पूजापाठ नगरी विभेद गरेपछि नेपाली लगायतले उनी विरुद्ध जातीय भेदभाव तथा छुवाछुत विरुद्धको (कसुर र सजाय) ऐन अनुसार कारबाही प्रक्रियामा जाने बताएका छन् ।
‘सल्लाह गरेर भोलि प्रहरीमा जान्छौ’ उनले भनिन् । उनका अनुसार विभेद गरिएका व्रतालु महिलाहरू वन गाउँ, ऐठपुर, भगतपुर लगायतका छन् ।पूजापाठ नगरी पुजारी भागेपछि नजिकका अर्का पुजारीले पूजापाठ गरी दिएका छन् ।