Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पहिरोको कारण बेनी–जोमसोम सडक सास्ती र जोखिम

पहिरोको कारण बेनी–जोमसोम सडक सास्ती र जोखिम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २, २०७९ आइतवार • १०:०२:५५ बजे
  • 715
    SHARES
  • पहिरोको कारण बेनी–जोमसोम सडक सास्ती र जोखिम

    पहिरोका कारण मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यात्रुलाई सास्ती हुन थालेको छ । सडकमा खस्ने पहिरोले सवारीसाधनमा क्षति पुग्ने, यात्रुलाई चोट लाग्ने र आवतजावत बन्द हुँदा जोखिम, झन्झट र सास्तीपूर्ण बनेको हो ।

    images

    ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा केही दिनयता दैनिकजसो यातायात अवरुद्ध हुने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख इन्द्र नेपालीका अनुसार जलेश्वर, राहुघाट, बैसरी, नौनीबगर, जलथले, रुप्से र काभ्रेभिरको पहिरोले बेनी–जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या भएको हो ।

    “कुन ठाउँमा कति बेला पहिरो खस्छ थाहै हँुदैन”, उनले भने, “खसेको पहिरो पन्छाउँदै सवारीसाधनलाई गन्तव्यमा पठाउँदै गरिएको छ ।” राहुघाटमा पहिरो खसेर सडक साँघुरिने र हिलोमा फस्ने समस्या छ । बैसरीमा सडक माथिबाट केही दिनयता निरन्तर पहिरो झरिरहेको छ ।

    पहिरो खस्न रोकिएको समयमा सवारीसाधन पार गराउने गरिएको छ । अन्नपूर्ण गाउँपालिकाको नौनीबगर, जलथले, रुप्से र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा पनि पहिरोको समस्या छ । यात्रु समयमा गन्तव्यमा पुग्न सकेका छैनन् । बीच बाटेमै अलपत्र पर्नुपर्ने अथवा गाडी परिवर्तन गर्नुपर्ने समस्या छ । जोमसोमबाट शनिबार बेनी आइपुग्न काठमाडौँका तीर्थ श्रेष्ठले पहिरोका कारण पूरै दिन लागेको बताए ।

    “अघिपछि जोमसोमबाट चार घण्टामै बेनी आइपुगिन्थ्यो”, उनले भने, “यसपालि पहिरोले बिहान ६ बजे हिँडेको साँझ ७ बजेमात्र बेनी आइपुगियो ।” राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम सडक स्तरोन्नतिको क्रममा रहेको छ । मुस्ताङको घाँसा देखि जोमसोम खण्डको पुल नभएको ठाउँ बाहेकका ठाउँमा सहज यातायात सञ्चालन भइरहेको छ । भिरालो र कमजोर भूगोल भएको म्याग्दी खण्डमा विस्तार गरिएको सडक भत्किएर हिलाम्मे बनेको छ ।

    कालोपत्र गर्ने तयार भएको सडक पनि पहिरोले साघुरिएको छ । कतिपय ठाउँमा ट्रक र ठूला वस एकतर्फी मात्र आवत जावत गर्न सक्छन् । बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले सडक विभाग र ठकेदार कम्पनीका डोजर लगायत उपकरणलाई तयारी अवस्थामा राखेर पहिरो पन्छाउने र यातायात सञ्चालन गर्ने गरिएको बताए ।

    म्याग्दीको रुप्सेबाट मुस्ताङको घाँसासम्मको खण्डमा धेरै पहिराको समस्या देखिएको उहाँको भनाइ छ । दुई वर्षअघिको बाढीले रुप्से र घाँसाको खहरेखोलामा निर्माणाधीन पुलको जगनै बगाएको थियो । बेगखोला र रुप्सेमा बाढी आउँदा सवारीसाधन आवतजावत गर्न सक्दैनन् ।

  • सम्बन्धित विषय:

  • # सडक सास्ती र जोखिम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology