Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अन्धविश्वास र देउताकै डरले छाउगोठ

अन्धविश्वास र देउताकै डरले छाउगोठ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २९, २०७९ शनिवार • १५:२१:१४ बजे
  • 781
    SHARES
  • अन्धविश्वास र देउताकै डरले छाउगोठ

    खप्तडछान्ना गाउँपालिका–५ की रमिला आग्री पहिलोपटक महिनावारी हुदाँदेखि नै छाउगोठमा बस्न थालेकी थिइन् । अहिले उनको मनमा घरभित्र बस्दा देउता रिसाउँछन् भन्ने गहिरो छाप बसेको छ । सुरु–सुरुमा महिनावारी हुँदा घरभित्रै बस्ने चाहाना देखाएकी रमिला अहिले भने घरभित्र बस्नु हुँदैन भनेर आफूभन्दा पछिका पिँढीलाई सम्झाइरहन्छिन्, किनकि उनले परिवारबाटै त्यस्तै शिक्षा पाइन् ।

    images

    अहिले उनी महिनावारी हुँदा छ दिनसम्मै बाध्य भएर छाउगोठमै बस्छन् । तर देउताको डरले घरभित्र बस्ने कुरा भने उनको मस्तिष्कमै आउँदैन । गाउँघरमा छाउगोठ भत्काउने अभियान चले पनि रमिला त्यसको विपक्षमा हुनु उनको बाध्यता नै छ । खप्तडछान्ना गाउँपालिका–४ की हरिना रोकायाले पनि देउता रिसाउने भन्दै महिनावारीको बेला अहिलेसम्म घरमा बस्न पाएकी छैनन् । घरमा बस्दा अनिष्ट हुने भन्दै परिवारकै सल्लाहमा उनी छाउगोठमा बस्न बाध्य छिन् ।

    ‘घरको दैलो पनि छुन दिँदैनन्’, उनले भनिन्, ‘सबैभन्दा समस्या महिनावारी भएकै बेलामा हुन्छ, तर परिवारले नै त्यो स्वभाविक प्रक्रिया भन्दै छाउगोठमै बस्न बाध्य पार्छन् ।’ रोकायाका अनुसार माइतीघरभन्दा बढी पोइलीघरमा छाउपडी मानिन्छ । उनको माइतीघर वडा नं ७ मा छोरीलाई महिनावारी हुँदा घरको दैलो छुनेदेखि गाईवस्तु दुहुनेसम्म गरिन्छ । पोइलीघरमा भने आँगनदेखि तरकारीका लहरा छुनसमेत बञ्चित गरिएको उनले बताइन् ।

    ‘बिहेको सुरुमा त सिस्नाको झाडी नजिकैको गोठमा बस्थ्यौँ । एक दिन सुतेकै बेलामा राति भत्कियो । त्यो दिनको घटना सम्झिँदा त आङै सिरिङ्ग हुन्छ ।’ राति छाउगोठ भत्किने बेलामा तीन–चार दिने साउने झरी रहेछ । रोकाया सम्झिन्छिन्, ‘छाउगोठभित्र पानी पनि जमेको थियो । झरी रोकिने अवस्थै थिएन । गोठको छतको काठ कुहिएर पूरै झर्नै लागेजस्तो थियो । प्लाष्टिक ओढेर सुत्न खोजेकी थिएँ । माथिबाट झ्याप्प भत्कियो । खरको छानो हुँदा बाँचियो ।’ रोकायाका अनुसार अहिले छाउपडीले पहिलेको जस्तो दुःख भने भोग्नु पर्दैन ।

    ‘छाउगोठ भए पनि सुरक्षित हुन्छन्’, उनले भनिन्, ‘राति एक्लै सुत्न पनि केही डर हुँदैन । पहिलेको अवस्था त कुरै छाडौँ’, उनले छाउगोठ मुक्त नभए पनि अलि व्यवस्थित भएको बताइन् । बुङ्गल नगरपालिका–६ की सीता बोहराले ३९ वर्षमा पाइला टेकिन् । उनी १३ वर्षको उमेरदेखि नै महिनावारी हुन थालिन् । माइती र पोइलीघर नजिकै भएको हुँदा उनलाई सुरुको बेला महिनावारी भएकै समयजस्तो अहिले पनि भइरहन्छ । घर, वस्तुभाउ, भाँडाकुँडा तथा पुरुष मान्छेलाई अहिले पनि छुन पाइँदैन । बस्ने, खाने, हिँड्नेदेखि पानी पँधेरा पनि छाउपडीका लागि अलग भएको उनले बताइन् ।

    ‘सबैभन्दा कष्टकर समय नै महिनावारीको बेलामा हुन्छ । तर हाम्रो गाउँ ठाउँमा देउताले भनेको नमाने उल्टै आफैँमाथि दुर्घटना हुने भन्छन् र डर लाग्छ । घर नजिकै पनि जान मन लाग्दैन ।’ उनले एकपटक सङ्घसंस्थाले भत्काएका छाउगोठ समाजले पुनःनिर्माण गरेको बताइन् । ‘पहिलेका गोठभन्दा अहिले केही त राम्रा र अलि व्यवस्थित भएका छन् । तर, मनमा भने देउताको डर कहिल्यै हराउँदैन’, उनले भनिन् ।

    बुङ्गलमा विवाहित/अविवाहित नभनी सबैले गोठमै बस्नुपर्ने उनले बताइन् । ‘हाम्रो यता जोसुकै महिला भए पनि महिनावारी हुँदा छ दिनसम्म गोठमै बस्नुपर्छ । घरमा मेरो दुई जना छोरी पनि त्यसै गोठमा बस्छिन्’, उउनले भनिन् । रमिला, हरिना र सीतामात्रै होइनन्, बझाङमा हजारौँ महिला अहिले पनि महिनावारीका बेलामा छाउगोठमै बस्छन् । स्थानीय सरकारका जनप्रतिनिधि, प्रहरी र सरोकारवालाको अगुवाइमा छाउगोठ भत्काए पनि फेरि छाउगोठ बनाएर बस्न थालेका छन् ।

    ‘छाउगोठको रूपमात्रै फेरिएको छ’, महिला अधिकारकर्मी तथा अल्पकालीन महिला सेवा केन्द्रकी इन्चार्ज गीता शाहीले भनिन्, ‘संस्कार र सोच जहाँको त्यहीँ छ । मानसिकरूपमा चेत खुल्दैन भने गोठजन्य संरचना भत्काएर केही हुँदैन ।’ उनले मुलुक सङ्घीयतामा जानुअघि पनि जिल्ला विकास समितिको नेतृत्वमा छाउपडीमुक्त अभियान चलाएको र बीचमै रोकिएको बताइन् । ‘सुरुमा छाउगोठ पनि भत्काइए’, उनले भनिन्, ‘विभिन्न सङ्घसंस्थाले चेतनामूलक कार्यक्रम गरे ।

    जिविसले पनि धेरै गाविसमा काम गर्यो । पछि सबै निकाय सुस्ताए । स्थानीयवासीले छाउगोठ पुनःनिर्माण गरे ।’ उनका अनुसार छाउगोठ भत्काउने अभियानका बेलामा केही महिलाले त त्रिपाल टाँगेर रात बिताएका थिए । उनले महिनावारी हुँदा घरभित्रै छुट्टै कोठामा बस्दै आएका महिला भने अन्धविश्वास तोडेर अघि बढेको बताइन् । जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर बोहरा पहिलेको तुलनामा धेरै परिवर्तन भएको बताउछन् ।

    ‘सुदूरपश्चिममा सबैभन्दा बढी छाउपडी मान्ने जिल्ला बझाङ पनि हो । तर पछिल्लो समयमा भने चेतनाको विकासले धेरै परिवर्तन भइसकेको छ । छाउपडी मान्नेहरू धेरै नै व्यवस्थित भइसकेका छन्’, उनले भने । बोहराका अनुसार बझाङमा सबैभन्दा बढी जयपृथ्वीका केही वडा, सुर्मा, छविस, मष्टा, खप्तडछान्ना र थलारामा बढी मान्ने गर्छन् । छाउगोठ भत्काउन तथा चेतना फैलाउने फेरि अर्को अभियान सुरू गर्ने उनले बताए ।

  • सम्बन्धित विषय:

  • # देउताकै डरले छाउगोठ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology