विभिन्न जिल्लामा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । रुपन्देहीमा कोरोना संक्रमणबाट कपिलबस्तुका दुई जनाको मृत्यु भएको छ ।
त्यस्तै सिरहामा ३५ वर्षीया महिलाको मृत्यु भएको छ । कर्जन्हा नगरपालिका-२, बन्दीपुरकी ती महिलाको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा मृत्यु भएको डा.जामुन सिंहले नागरिकखबरलाई जानकारी दिए ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका एक पुरुषको मृत्यु भएको छ । मोरङ धनपालथानका ४० वर्षीय पुरुषको उपचारका क्रममा बिहान मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।
चितवनको चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरकी एक महिलाको पनि मृत्यु भएको छ । गएराति गैँडाकोट-९, की ६२ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।
पर्साको वीरगञ्जमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज-१०, की ५५ वर्षीया महिलाको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र मृत्युपछिको रिपोर्ट नगेटिभ आएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जानकारी दिए ।
त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हिजो मोरङका एक वृद्धको मृत्यु भएको छ । विराटनगर-१२, का ७० वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।