शम्भु रसाली
नेपाली समाजमा कामी दमाई सार्की भनेर र त के कुरा विश्वकर्मा, परियार, नेपाली भनेर बाच्न समेत गारो छ । किनकि छुत पनि यहीँ छन र अछुत पनि । छुतले अछुतलाई पिडिसम्म टेक्न नदिने चलन यहीँ छ । यस्तो सस्कार रहेको समाजमा जिवनयापन गर्ने कसरी ? घर छोड्नै गारो, टोल छोड्नै गारो किनकि जतासुकै विभेदै विभेद छ । शिक्षा प्राप्ति, रोजगारी र व्यवसायिक कारणले घर छोडेर अन्य स्थानमा जादा डेरामा बस्नु पर्ने हुन्छ । सवैको सवै ठाउँमा घर सम्भब छैन त्यसमा दलितको त झन हुने कुरै भएन । बस्नको लागि बासै नपाएपछि आफुले आफुलाई नयाँ ठाउँमा स्थापित गर्ने कसरी ? सजिलो उपाय थर परिवर्तन । थर भन्दिए मात्र पुग्ने जात भन्ने नपर्ने । समाजमा सजिलै घुलमिल हुन सकिने । जातीय विभेदजस्तो अपमान सहनु नपर्ने । क्या गजवको आइडिया । यहीँ सोच ओम प्रसाद विश्वकर्मामा आएछ । धेरै वर्षको संघर्ष पश्चात् ३८ वर्शको उमेरमा ओम प्रसाद विश्वकर्माबाट ओम प्रसाद पौडेल भए । अहिले त थर परिवर्तन गर्ने लहरै चलेको छ ।
हाम्रो प्रत्येक समाजमा करिव ८५ प्रतिशत छुत रहेका छ्न । यस्तो समाज र बस्तीमा जात खुलाएर कोठा पाउने सम्भावना ८५ प्रतिशतले नै कम हुन्छ । यस्तो अवस्थामा जात र थर ढाट्नुको विकल्प हुदैन । कसैले थर सोध्दा म पौडेल हो, म श्रेष्ठ् हो, म थापा हो भन्दा जात सोध्ने कुरै हुदैन । उल्टै नातालाईलाई कोठा दिने चलन अहिले पनि छ । वा कति सजिलो आइडिया ।
केही उदाहरण,
जातभात एकदमै मान्ने, घर खाली राख्छु तर दलितलाई कोठा दिन्न भन्ने घरबेटीकोमा मेरो भाइ कोठा हेर्न पुगेछन । घरबेटीले थर सोधेछन । भाईले मेरो थर लामिछाने हो भनेपछी मावली खान्दान हुनुहुदोरहेछ आउनुस बस्नुस भनेर सम्मानका साथ आफ्नो घरमा स्वागत गरेछन । थर परिवर्तन गरेकै कारण अपमानित हुनवाट बचेर उल्टै सम्मानित भएछन । कारण थियो थर परिवर्तन ।
मलाई पनि एक पटक घरधनीले थर सोधे । मैले भने रसाली । रसाली भनेको के ? मैले भन्दिए ब्राह्मण । उनीहरुले पत्याएन । मेरो मामाको छोरा लोहनी र मेरो दिदिको छोरा पौडेल हामी तीन जना सङ्गै बस्थ्यौ । मैले उहाँहरुको थरको साहारा लिदै भने भने भान्जा पौडेल बाहुन र मावलीदाई लोहनी बाहुन भएपछि म के होला हजुर आफै बुझ्नुस । यति भनेपछी घरबेटी विश्वसत भए । हामी ढुक्कले बस्न पाइयो । कारण थियो थर परिवर्तन ।
हालसालैको घटना हो, नेपालको राजधानी काठमाडौमा म कामीको छोरी फलना सुनार हो भन्दा कोठा नपाएर पुलिस केस नै गर्नु पर्यो । घरबेटी जेल जान तयार भैन तर कोठा दिन तयार भैनन । त्यसरी कोठा नपाउनुमा पनि कारण थियो थर । समाजमा अपाच्य हुने थर भनेका कारण उनले कोठा नपाएको कुरा जगजाहेरै छ ।
थर रुपान्तरणको विषयलाई जोडेर आज ओम प्रसाद विश्वकर्माको बारेमा लेख्न गईरहेको छु । जसको अनुकरण हजारौं दलितहरुले गरेका छन । धमाधम थर परिवर्तन गरेर समाजमा सहजताको माहोल बनाउदैछन । अझ रोचक कुरा त समाजमा घुलमिल हुने सबै भन्दा राम्रो र सजिलो माध्यम थर परिवर्तन नै हो भन्ने कुराको प्रमाणित अहिले आएर धमाधम थर परिवर्तन गर्नेहरुले गरेकाछन । यसैवाट पनि सावित हुन्छ कि उहाले जे गर्नु भयो अत्यावश्यक काम गर्नु भयो ।
जुन कार्यको अगुवा, मार्गदर्शक, सुत्रधार हुनुहुन्थ्यो पाल्पा, तानसेन, विशाल बजारमा मिति २००६ साल भदौ २७ गते जन्मनु भएका ओम प्रसाद विश्वकर्मा । पेशाले हामी कामी भएता पनि हाम्रा बङ्गस पनि आर्यन नै हुन । हाम्रो रुप रोगन, भेषभुसा, सस्कार, गोत्र सबै बाहुन क्षेत्रीसङ्ग मिल्ने थर किन नमिल्ने ? यसकारण पनि हामीले त्यो थर पाउनु पर्छ जुन थर उनिहरुको छ र गोत्र हाम्रो ।
स्व.विश्वकर्मा त्यही थर प्राप्तिको लागि ३८ वर्शको उमेरसम्म नागरिकता विहिन भएर बस्नु भएछ । धेरै वर्शको लामो संघर्ष पश्चात् मिती २०४४ साल साउन २७ गतेका दिन पौडेल थर राखेर नागरिकता लिन सफल हुनु भएछ । अहिले उहाँका सवै सन्तानको नागरिकतामा पौडेल छ । थर रुपान्तरणको विषयलाई लिएर सवै खुसी भएका छन । उहाँका सन्तानले भन्छन; पौडेल थर भएको कारण हामीलाई सहज भएको छ । रोजीरोटीमा समेत सहयोग गरेको छ ।
राणा शासनकालमा जन्मेर पन्चायत शासनकालमा थर परिवर्तन गर्नु चानचुने कुरा थिएन । तर उहाँ सफल भएरै छोड्नु भयो । अन्जान ठाउँ र वस्तीमा विभेदवाट मुक्ती पाउने यो नै सजिलो उपाए हो भन्ने कुरा उहालाई राम्रोसँग थाह थियो । खुल्ला बजारमा छिर्ने सबै भन्दा सजिलो उपाए यही रहेछ । जुन कुरा आज आएर सावित भएको छ ।
अहिले त अन्य जातको थर लेखाउन गारो छ । त्यतिबेला विश्वकर्मा जातिका ब्यक्तिले ब्राह्मण क्षेत्रीको थर लेखाउन कति गारो भयो होला ? कति संघर्ष गर्नु पर्यो होला ? जिल्ला प्रशासन कार्यालय कति पटक धाउनु भयो होला ? कती वर्षसम्म नागरिकता विहिन भएर बस्नु पर्यो होला ? कति सिडियोको झपराई खानु भयो होला ?
फलानो कामी, फलानो दमाई भनेर लेख्ने समयमा विश्वकर्मा थर लेखाउन समेत त गारो पर्ने बेला हामीलाई पौडेल थर दिनु पर्यो भन्दा त्यति बेलाका सिडियोले के भन्थे होला ? अहिले कल्पना गर्दा पनि अचम्म लाग्छ । यस्ता कुरा गर्नु भनेको जो कोहिका लागि कल्पना भन्दा बाहिरको कुरा हो । तर उहाले सफल्ता पुर्वक गर्नु भयो । यहीँ नै उहाँको जीवनको सवैभन्दा ठूलो सफल्ता र विजय हो । यहीँ कार्यले जवसम्म यो धर्ती रहन्छ तवसम्म उहाँ अमर रहनुहुने पक्का छ । उहाले आफ्ना सन्ततिलाई समाजमा सजिलै घुलमिल हुनसक्ने पहिचान छोडेर जानू भएको छ । सन्ततिलाई आफ्ना अग्रजको यो भन्दा ठूलो उपहार के हुन सक्छ ? त्यसैले त उहाँ महान हुनुहुन्छ । थर परिवर्तनको अगुवा ओम प्रसाद पौडेलको अनुकरण गर्दै थर परिवर्तन गर्नेको अहिले आएर लहर नै चलेको छ ।
सानाठुला जोसङ्ग पनि साथित्वको व्यबहार गर्ने स्व. ॐ प्रसाद पौडेल विश्वकर्मा निडर, परिश्रमी, अन्याय अत्यचारको विरुद्धमा सदैव आवाज उठाउने स्वभावको हुनुहुन्थ्यो । आर्थिकरुपले सम्पन्न हुँदा हुँदै पनि ७०/७१ वर्षको उमेरसम्म पनि सुनका गहना बनाएर बसेको म आफै देखेको छु । कर्मले नै मानिसको भविष्य बदल्छ भन्ने सोच उहाँमा थियो । त्यही सोचका कारण उहाँका सवै सन्तान आर्थिक र शैक्षिकरुपले सम्पन्न छन । स्वदेश तथा विदेशमा पनि सानको जिन्दगी विताइरहेका छन ।
उहाँ नाताले नेरो भिनाजु भएता पनि हामीहरुसङ्ग पनि साथीकै व्यवहारले कुराकानी गरेको अहिले जस्तै लाग्छ । उहाँको जीवनी एक पटक हेर्नै पर्छ । उहाँको नक्कल मात्र गर्न सकियो भने पनि जातीय विभेदका विरुद्ध बुलन्द आवाज निकाल्न सक्ने आट अहिलेका युवाहरुमा आउने पक्का छ । उहाँ जस्ता हजारौं लाखौं युवाको जन्मले मात्र विभेदका विरुद्ध लड्ने आट जन्माउनेछ । उहाँ जस्तो महान व्यक्तिको चिर निद्राको कारण समुदायलाई ठूलो क्षति पुगेको छ भन्दै उहाँको आत्माको चिर शान्तिको कामना सहित स्वर्गमा वास मिलोस भनी प्रथना गर्दछु ।
आज आएर उहाँको आफ्ना सन्ततिहरु प्रतिको सपना पूरा भएको छ । आफ्ना सन्ततिलाई कहिल्यै नसकिने उपहार दिएर जानू भएको छ । आफ्ना सन्ततिलाई उहाले जस्तै उपहार दिन अहिलेका दलितहरु लागि परेका छन । राम्रो कामको अनुकरण सवैले गर्नु पर्छ भन्ने बुझेकाहरु थर परिबर्तनका प्रथम अगुवा स्व.ओम प्रसाद पौडेल सवैको आदर्श र मार्गदर्शक हुने पक्का छ ।
थर परिवर्तन किन गर्ने भन्ने जिज्ञासा्मा उहाले भनेका कुराहरु यश प्रकार रहेका छन :
१.थर परिवर्तनले पढाइ र कामको शिलसिलामा घर छोडिसके पछि आईपर्ने जातीय विभेदको सामना गर्नु पर्ने छैन । जसका कारण निर्धक्कसङ्ग आफ्नो लक्ष्यमा पुग्न सकिनेछ । यसकारण पनि थर परिवर्तन हाम्रोलागि नितान्त आवश्यक कुरा हो ।
२.आर्यन वङ्शबाट एक पङ्तिमा रहेका ब्राह्मण वर्ग मध्यका श्रेष्ठ हामी विश्वकर्मा हौ त्यसकारण पनि हामीली आफ्नो थर पाउनु पर्छ ।
३.भारतका कतिपय प्रान्तमा विश्वकर्मा जातका मानिसलाई शर्माको मान्यता दिईएको पाइन्छ । जसको सामाजिक पहिचान ब्राह्मणको भन्दा माथी छ । त्यसकारण हामीले पनि आफ्नो गोत्र अनुसारको थर लेख्न पाउनु पर्छ ।
४.आर्यन वङ्शजहरुको सम्पुर्ण सस्कार, रितिरिवाज, भेष भुसा र रुपरङ्ग मिल्ने भएका कारण पनि ब्राह्मण क्षेत्रीहरुले लेखाउने थर हाम्रो पनि भएको हुँदा हामीले पनि आफ्नो थर लेखाउन पाउनु पर्छ ।
५.गोत्रका आधारमा खोज गर्ने हो भने पनि सबै विश्वकर्माको गोत्रमा ऋषिहरुकै नाम पाइन्छ त्यसकारण पनि यहाँका बाहुन क्षेत्रीले प्रयोग गर्ने थर हाम्रो पनि हो र हामीले पनि लेखाउन पाउनु पर्छ ।
यिनै विषयलाई समेटेर ओम प्रसाद पौडेलको थर लेखनको संघर्ष नामक शिर्षकमा डकुमेन्ट्री बनेको छ जुन Tansen Family यूटुव च्यानलमा हेर्न सकिनेछ । जसको निर्माण हरि हेमचुरी पौडेल र चन्द्रु पौडेलले गर्नु भएको छ ।