Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विश्वकपमा साउदी अरेबियाको ऐतिहासिक जित, अर्जेन्टिना स्तब्ध

विश्वकपमा साउदी अरेबियाको ऐतिहासिक जित, अर्जेन्टिना स्तब्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ६, २०७९ मंगलवार • १८:०१:४६ बजे
  • 796
    SHARES
  • विश्वकपमा साउदी अरेबियाको ऐतिहासिक जित, अर्जेन्टिना स्तब्ध

    कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत मंगलबार भएको समूह ‘सी’ को खेलमा कतारको छिमेकी साउदी अरेबियाले दुई पटकको च्याम्पियन अर्जेन्टिनालाई २–१ ले स्तब्ध पारेको छ । साउदीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै अर्जेन्टिनामाथि शानदार जितसहित विश्वकप सुरु गरेको हो ।

    images

    उपाधिको मुख्य दाबेदार रहेको अर्जेन्टिनाले भने पहिलो खेलमै पराजय भोग्नुप¥यो । यस हारपछि अर्जेन्टिनाले लगातार ३६ खेलको अपराजित यात्रा पनि टुंगिएको छ । यसअघि अर्जेन्टिनासँग चार खेल खेल्दा एक खेल पनि जित्न नसकेको साउदी अरेबियाले अर्जेन्टिनालाई पहिलो पटक पराजित गरेको हो ।

    सन् २०१९ को कोपा अमेरिकामा ब्राजिलसँग सेमिफाइनलमा पराजित भएयता ३६ खेलमा अपराजित अर्जेन्टिना उच्च लयका साथ कतार पुगेको थियो । विश्वकपअघि अभ्यास खेलमा युएईलाई ५–० ले पराजित गरेको थियो । तर मुख्य प्रतियोगितामा भने अर्जेन्टिना पहिलो खेलमै पराजित भयो । लुसेल आइकोनिक स्टेडियममा लिओनल मेसीको पेनाल्टी गोलमा अर्जेन्टिनाले पहिले अग्रता लिएको थियो ।

    साउदीका साउद अब्दुलहामिदले लिएन्ड्रो परेडेसलाई फउल गरेपछि भिएआरको सहयोगमा अर्जेन्टिनाले पेनाल्टी प्राप्त गरेको थियो, जसमा कप्तान मेसीले सहजै गोल गर्दै अग्रता दिलाए । उक्त गोलसँगै मेसी चार विश्वकपमा गोल गर्ने पहिलो अर्जेन्टिनी खेलाडी बने ।

    उनले यसअघि २००६, २०१४ र २०१८ को विश्वकपमा गोल गरेका थिए भने २०१० मा गोल गर्न सकेनन् । त्यसपछि अर्जेन्टिनाले गरेको तीन गोल अफसाइड भएको थियो । २८औं मिनेटमा लाउटारो मार्टिनेजले गरेको गोल भिएआरले अफसाइड देखाएपछि अर्जेन्टिना अग्रता दोब्बर बनाउनबाट बन्चित भयो । पहिलो हाफमा अर्जेन्टिनाले १–० को अग्रता कायम राख्यो ।

    दोस्रो हाफमा भने साउदी अरेबिया सुरुदेखि नै अर्जेन्टिनामाथि हावी बन्यो र पाँच मिनेट अन्तरमा दुई गोल गर्यो । ४९औं मिनेटमा सालेह अल शेहरीले साउदी अरेबियाका लागि बराबरी गोल फर्काए । बराबरी गरेपछि कन्फिडेन्ट देखिएको साउदीका लागि सालेम अल दावसारीले अर्को गोल गर्दै २–१ को अग्रता दिलाए ।

    त्यसपछि अर्जेन्टिनाले बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन । अर्जेन्टिनाका केही प्रहारलाई साउदी गोलकिपर मोहम्मेद खालिल अल ओवाइसले बचाए । इन्जुरी टाइममा साउदी अरेबियाका अब्दुलेलाह अल अमरीले गोल लाइनबाट बल क्लियर गरेका थिए ।

    उपाधि दाबेदार अर्जेन्टिनाले पहिलो खेलमा पराजित भएपछि अब नकआउट चरण पुग्न बाँकी दुई खेल जित्नैपर्ने दबाब बढेको छ । अर्जेन्टिनाले अब मेक्सिको र पोल्याण्डसँग खेल्नेछ ।

  • सम्बन्धित विषय:

  • # अर्जेन्टिना स्तब्ध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology