विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा बिहीबार जारी नयाँ वरियतामा नेपाल १७०औं स्थानमा यथावत रहेको हो । गत महिना पनि नेपाल १७०औं स्थानमै रहेको थियो ।
त्यस्तै नेपाल दक्षिण एसियाली राष्ट्रको तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । एक स्थान घटुवा भएको भारत १०९औं स्थानमा छ भने माल्दिभ्स १५५औं स्थानमा रहेको छ ।
नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलङ्का र पाकिस्तान रहेका छन् । भुटान १८९औं, बंगलादेश १८७औं, श्रीलङ्का २०६औं र पाकिस्तान २००औं स्थानमा रहेका छन् ।
नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ भने फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो तथा पोर्चुगल पाँचौं स्थानमा रहेका छन् । पोर्चुगल भने दुई स्थान उक्लिएर पाँचौं स्थानमा पुगेको हो ।
एक स्थान झरेको उरुग्वे छैटौं, स्पेन सातौं, क्रोएसिया आठौं, अर्जेन्टिना नवौं र कोलम्बिया दशौं स्थानमा रहेका छन् ।