Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रविलाई अरुणको जवाफ- ‘वैवाहिक जीवन सफलताको शुत्र ‘सम्पादकनी भाउजू’ सुशीलासँग सिक्नु’

रविलाई अरुणको जवाफ- ‘वैवाहिक जीवन सफलताको शुत्र ‘सम्पादकनी भाउजू’ सुशीलासँग सिक्नु’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २५, २०७९ बुधवार • १२:४१:४३ बजे
  • 877
    SHARES
  • रविलाई अरुणको जवाफ- ‘वैवाहिक जीवन सफलताको शुत्र ‘सम्पादकनी भाउजू’ सुशीलासँग सिक्नु’

    कान्तिपुर टेलिभिजनका सम्पादक तथा वरिष्ठ पत्रकार अरुण बरालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई वैवाहिक जीवन सफलताका शुत्र आफ्ना श्रीमती सुशीलासँग सिक्न सुझाव दिएका छन् ।

    images

    सरकारबाट बाहिरिने क्रममा पत्रकार सम्मेलन गर्दै लामिछानेले बराललाई लगाएको विभिन्न आरोपको खण्डन गर्दै वैवाहिक जीवन सफलताको शुत्र आफ्ना श्रीमती सुशीलासँग सिक्न सुझाव दिएका हुन् ।

    पत्रकार बरालले फेसबुकमा रविलाई सम्बोधन गर्दै लेखेका छन– ‘रविजीले अहिले निकितासँग खुशी छु भन्नुभयो । तपाईंको वैवाहिक जीवनको सफलताको कामना गर्दछु । अझ वैवाहिक जीवनमा आपसी विश्वास, प्रेम र खुशीको निरन्तरता कसरी कायम गर्ने ? फुर्सद भयो भने एकचोटि तपाईकै पितृसत्तावादी शब्दमा ‘सम्पादकनी भाउजू’ सुशीलासँग भेट्नुहोस्, उनले तपाईंलाई महत्वपूर्ण सुझावहरु दिन सक्छिन् ।’


    पत्रकार बरालले ‘कठपुतली नबनी आफ्नै सार्वमौम दिमागले चल्नुपर्छ’ भन्दै रविलाई सुझाव समेत दिएका छन् । उनले भनेका छन्– ‘मिडिया र नागरिक समाजको विश्वास जित्न सक्नुपर्छ । आलोचकहरुसँग पनि सहकार्य गर्न तयार हुनुपर्छ । सबैभन्दा ठूलो कुरा, कसैको कठपुतली नबनी आफ्नै सार्वमौम दिमागले चल्नुपर्छ ।’

    पत्रकार बरालको स्टाटस जस्ताको त्यस्तै–

    अरस्तुले भनेका छन्– ‘आफ्नो भनाइमा सहमत गराउने सबैभन्दा प्रभावकारी माध्यम चरित्र हो ।’ (तर्क होइन)

    श्रीमद्भागवतमा भनिएको छ– कलियुगमा साधु र लुटेराहरु बस्त्रले मात्रै छुट्टिन्छन् ।

    नेपालमा वैकल्पिक राजनीतिको जग बसाउने अपेक्षा गरिएका नेताले मजस्तो एउटा सामान्य मानिसको चरित्रमाथि भ्रमको तोप हानेपछि मेरो व्यक्तिगत चरित्र थाहा नपाउनुभएका कैंयौं अपरिचित मित्रहरुले सामाजिक सञ्जालमा विविध प्रश्न उठाउनुभएको छ । यसका लागि उहाँहरु सबैलाई धन्यवाद दिन चाहन्छु । यस अर्थमा कि मैले आफ्नो बारेमा केही बताउने मौका पाएँ ।

    मेरो कुरामा तपाईहरु सहमत हुनुपर्छ भन्ने कुनै जरुरी छैन । अझै केही दशक बाँचिएला, एउटै डुंगामा छौं, परीक्षाहरु दिँदै जाऔंला, लिँदै जानुहोला । अहिले चाहिँ म आफ्नो बारेमा केही प्रष्ट्याउने दुष्प्रयास गर्दछु ।

    मेरो विचारमा मानिसको मूल्यांकनको महत्वपूर्ण आधार उसको चरित्र हो । अनैतिक मानिसले समाजको नेतृत्व गर्ने हैसियत र नैतिकता राख्दैन भन्ने मेरो मान्यता छ । नारीलाई सम्मान नगर्ने स्त्रीपीडकहरु मेरो नजरमा समाजका कलंक हुन् । जहाँ नारीमाथि अपमान र धोका हुन्छ, त्यहाँ सभ्य समाजको कल्पना गर्न सकिँदैन भन्ने मेरो मान्यता रही आएको छ । म सभ्य नागरिक भएर जिउने प्रयासमा ५० वर्ष पुग्न लागेको नागरिक हुँ । महिला हिंसा, घरेलु हिंसा जातीय हिंसा र सबैखाले विभेदका विरुद्ध उभिँदै आएको छु र उभिइरहने छु ।

    यौन अनुशासनजस्तै आर्थिक अनुशासन सभ्य नागरिकको अर्को न्यूनतम परिचायक हो भन्ने मेरो मान्यता छ । २०५७ सालदेखि पत्रकारितामा संलग्न मसँग कुनै चारपांग्रे, दुईपांग्रे सवारी साधन छैन । काठमाडौँमा अपार्टमेन्ट किनेको छैन, घर छैन । डेरामा बसेको छु । सार्वजनिक सवारी साधन प्रयोग गर्छु । तलब बाहेक कुनै अतिरिक्त आय आर्जन गर्ने गरेको छैन । बियर, रक्सी केही पनि पिउने गरेको छैन । चुरोट तान्ने गरेको छैन । मलाई चिन्नेहरुलाई मैले आफ्नो यो जोगीपन र सादगी चरित्रबारे बताउनैपर्दैन । जसले मलाई चिन्नुभएको छैन, उहाँहरुले हप्ता उठाउने, जाँड खाने, पैसामा बिक्ने इत्यादि भनेको सुन्दा नचिनेर हो जस्तो लाग्छ । मैले आफूलाई चिनाउन सकिनँ भन्ने लाग्छ ।

    रविजीलाई धन्यवाद दिन चाहन्छु, उहाँले आइतबारको पत्रकार सम्मेलनमा अनलाइनखबरको समाचारलाई पुष्टि गर्दै आफ्नो तीतो विगतबारे स्वीकारोक्ति प्रकट गर्नुभयो । पहिलो घरबार बिग्रियो, दोस्रो महिलासँग सम्पर्क भएर बच्चा जन्मियो भन्नुभयो । भलै अनलाइनखबरमा त्यो समाचार मैले लेखेको थिइनँ । तर, सम्पादक भएकाले जिम्मा लिनैपर्छ, जिम्मा लिन्छु । समाचार अझै पनि इन्टरनेटमा खोज्दा भेटिएला । त्यसमा पहिलो श्रीमतीले अन्याय भयो भन्नुभएको छ । महिला हिंसाको विषय समाचार बन्न सक्छ कि सक्दैन ? यहाँलाई थाहै होला । अझ अर्की महिलाबाट बच्चा जन्मिएको त उहाँले आइतबार आफैं स्वीकारिसक्नुभयो । परिवारमा तेस्रो व्यक्तिको प्रवेश अनैतिकता र धोका मात्र होइन, गैर कानूनी कार्य पनि हो । आधा दशकअघिको समाचारमा चित्त नबुझेको भए त्यसको उपचारविधि पनि त थियो ।

    हो, हाम्रो पत्रकारिताका जीवनमा लेखेका पढेका समाचारहरुले धेरैको चित्त दुखेको हुनसक्छ, धेरै शत्रुहरु कमाइएको हुन सक्छ । रविजीको पनि टीभीमा त्यस्तै भएको थियो होला । पत्रकार त के, न्यायाधीशले पनि त सबैलाई खुशी बनाउन सक्दैनन् ।

    तर, कसैसँग आग्रह पूर्वाग्रह रहेको भए कान्तिपुर टीभीमा अन्तरवार्ताका लागि रिक्वेस्ट किन गरें होला ? म्यासेज पक्कै सुरक्षित होला, मेरो मोबाइल हैन, आफ्नै मोबाइल चेक गर्नुभए हुन्छ ।

    रविजीले अहिले निकितासँग खुशी छु भन्नुभयो । तपाईको वैवाहिक जीवनको सफलताको कामना गर्दछु । अझ वैवाहिक जीवनमा आपसी विश्वास, प्रेम र खुशीको निरन्तरता कसरी कायम गर्ने ? फुर्सद भयो भने एकचोटि तपाईकै पितृसत्तावादी शब्दमा ‘सम्पादकनी भाउजू’ सुशीलासँग भेट्नुहोस्, उनले तपाईलाई महत्वपूर्ण सुझावहरु दिन सक्छिन् ।

    स्पष्ट होस् म तपाईको पछि लागेको छैन । म कुनै पार्टी पत्रकारितामा विश्वास गर्दिनँ । विकृति विसंगतिमा चाहिँ निर्मम छु । अरुको जिम्मा म लिन्नँ तर, आफ्नो पूरै जिम्मा लिन्छु । तपाई पनि आफ्नो जिम्मा लिनोस् । अरुलाई चरित्रहीन देखाउन आफू चरित्रवान् हुनैपर्छ, अन्यथा त्यो आत्मघाती हुन सक्छ ।

    प्लेटो भन्छन्– पहिलो र सर्वश्रेष्ठ जीत स्वयंमाथि विजय प्राप्त गर्नु हो ।

    अन्त्यमा, म रविजीको टिमले थालेको नयाँ राजनीतिक अभियानको सफलताको कामना गर्दछु । त्यहाँ रहेका तोसिमा, सोबिता, विजयराज, शिशिरजस्ता होनहार युवाप्रति देशले आशा गरेको छ ।

    तर “यो गीत मैले गाएको हैन, सम्झाइदिएको” भनेजस्तो रविजीलाई सम्झाइदिउँ – मन्त्री हुदाँ र निस्कँदा तपाईले आफ्नो सम्पति विवरण सार्बजनिक गर्नु भो? अनि के नयाँ थिति बसाउने कुरा गर्नु हुन्छ ? कसरी पत्याइदिने हामीले?

    शुक्रबार राति बालकोटमा दुई घण्टासम्म स्क्रिप्ट रटेर आइतबार दिउँसो बसुन्धरामा एङकर पढ्दा नयाँ राजनीतिक धार बन्दैन । नयाँ राजनीतिक विकल्प दिने हो भने कसैको लहैलहैमा नलागी, नम्रतापूर्वक जनताको सेवा गर्नुपर्छ । मिडिया र नागरिक समाजको विश्वास जित्न सक्नुपर्छ । आलोचकहरुसँग पनि सहकार्य गर्न तयार हुनुपर्छ । सबैभन्दा ठूलो कुरा, कसैको कठपुतली नबनी आफ्नै सार्वमौम दिमागले चल्नुपर्छ ।

    शुभकामना छ । गान्धीले भनेका छन्- मानिसलाई कसैले हराउन सक्दैन, आफैंले मात्र सक्छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology