Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

लोत्से मलमा तोडफोड र लुटपाट गर्ने ४० जनामाथि अनुसन्धान सुरु

लोत्से मलमा तोडफोड र लुटपाट गर्ने ४० जनामाथि अनुसन्धान सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ६, २०७९ शनिवार • १८:०२:०३ बजे
  • 499
    SHARES
  • लोत्से मलमा तोडफोड र लुटपाट गर्ने ४० जनामाथि अनुसन्धान सुरु

    फागुन १ गते नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड गरी लुटपाट गर्ने तथा प्रहरीको सवारी साधन आगजानीमा संलग्न ४० जनालाई प्रहरीले पक्राउ गरेको छ । यातायात मजदुरका नाममा प्रहरीका दुईवटा भ्यानमा आगो लगाउने, लोत्से मल तोडफोड गर्ने तथा मोबाइल लुटपाटमा संलग्न भएको आरोपमा उनीहरुलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको थियो ।

    images

    आन्दोलनकारीले लोत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि, डायमन्ड मोबाइल प्रालि र गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइल, चार्जर, रिचार्ज, एयरफोनलगायत सामग्री लुटपाट गरेका थिए ।

    उनीहरूले प्रहरी वृत्त बालाजुको बा २ झ १४४ नम्बरको स्कार्पियो र बा १ झ ७२२४ नम्बरको गाडी समेत जलाउनुका साथै बालाजु र माछापोखरी चोकको ट्राफिक आइल्यान्डमा क्षति पु¥याएको प्रहरीको आरोप छ। आन्दोलनका क्रममा बालाजु चोकको अस्थायी प्रहरी पोष्टमा समेत आगो लगाइएको थियो ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले आगजानी र तोडफोडमा संलग्न २९ र मोबाइल लुटपाटमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए । ‘प्रहरीको भ्यान आगजानी गर्ने र मल तोडफोड गरी चोरी गर्ने अन्य केही व्यक्तिको पहिचान भइरहेको छ, उनीहरूलाई पनि चाँडै नियन्त्रणमा लिन्छौं,’ उनले भने ।

    नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनलगायतको नेतृत्वमा भएको आन्दोलनले उग्र रुप लिँदा उक्त घटना भएको थियो । घटनामा अधिकांश व्यक्ति चालक, सहचालक, विद्यार्थी र विभिन्न होटल तथा रेष्टुराँका कामदार छन् ।

    लुटपाटमा संलग्नलाई मुलुकी अपराध संहिता ऐन, २०७४ परिच्छेद २० चोरी तथा डाँकासम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्नाका साथै आगजानी तथा तोडफोड गर्नेलाई मुलुकी अपराध संहिता ऐन को परिच्छेद २६ को दफा दुई सय ८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको प्रवक्ता रिजालको भनाइ छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology