नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा हुने आन्दोलनमा सहभागीलाई कडा कारबाही गर्न बालुवाटारले निर्देशन दिएको छ ।
प्रधानमन्त्रीको निजी सचिवालयले गृहमन्त्री रामबहादुर थापा बादल र गृहसचिव महेश्वर न्यौपानेलाई दिएको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालयमा कुलमानको पक्षमा हुने आन्दोलन नियन्त्रण लिनका लागि गोप्य सर्कुलर गरिएको छ ।
गृहमन्त्री निकट स्रोतले भन्यो, 'घिसिङको पक्षमा विभिन्न जिल्लामा आन्दोलन हुन सक्ने भएकाले प्रधानमन्त्रीको सचिवालयको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर गरिसकिएको छ । त्यसै अनुसार स्थानीय प्रशासनले कमद चाल्नेछन् । काठमाडौंका प्रदर्शनलाई पनि नियन्त्रणमा लिन आवश्यक जनशक्ति तयार गरिएको छ ।'
काठमाडौंमा बिहीबार भएको प्रदर्शनमा प्रहरीले दमन गरेको थियो । निर्देशन अनुसार नै आन्दोलन रोक्नका लागि बल प्रयोग गरिएको स्रोतको दावी छ । स्रोत भन्छ, 'प्रधानमन्त्री कार्यालयको निर्देशन अनुसार सर्कुलर गरिएकाले हिजोको आन्दोलन नियन्त्रणमा लिन बल प्रयोग गरिएको हो । कोरोना जोखिम बढ्ने भएकाले कडाइ गर्नु परेको हो ।'