Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आफन्तको हेलापछि एक वर्षदेखि ओढारमा बास

आफन्तको हेलापछि एक वर्षदेखि ओढारमा बास

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ९, २०७९ मंगलवार • १०:१०:४९ बजे
  • 586
    SHARES
  • आफन्तको हेलापछि एक वर्षदेखि ओढारमा बास

    म्याग्दी । बेनी नगरपालिकाको वडा नं ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन् ।

    images

    सडक छेउको ओढारमा बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले ढुङगेयुगजस्तै एक वर्षदेखि ओढारमै आश्रय लिएका छन् । छोराहरूको मृत्यु, श्रीमतीले दोस्रो विवाह र आफन्तले हेला गरेपछि ओढारमा बस्नुपरेको राहुलले बताए ।

    ‘शक्ति र उमेर हुँदासम्म ३५ वर्ष भारतमा काम गरेँ’, उनले भने, ‘उमेर घर्किएपछि गाउँ फर्कँदा साथ दिने कोही भएनन् । हेला गर्न थालेपछि घर छाडेर ओढारमा बस्नुपरेको हो ।’

    राहुलले कन्दमूल खोज्ने र मागेर ल्याएको अन्नबाट दैनिकी चलाउने गरेका छन् । सो ओढार बेनी बजारबाट करिब एक किलोमिटर नजिकको दूरीमा छ । सडकको कान्लामाथिको सानो ओढारमा फाटेका कपडा ओछ्याएर सुत्ने गरेका छन् ।

    शारीरिक कमजोरीका कारण श्रम गर्न सक्दैनन् । काम गर्न नसक्ने भएकाले कसैले दिएको तथा मागेको आफैँले पकाएर खाने गरेका कुरिलाखर्कका सुरेस ढुङ्गानाले बताए ।

    ‘मेरो भैंसी फार्मसँगै जोडिएको ओढारमा बस्न थाल्नुभएको एक वर्षजति भयो’, उनले भने, ‘काम गर्न सक्दिनँ । मलाई यही ठिक छ भन्नुहुन्छ ।’ ढुङ्गानाको भकारो छेउको गोलभेँडा टिपेर तरकारी बनाउने राहुल अरु खाद्यान्न माग्न बजार झर्नुहुन्छ । दिउँसोमा घाम लागे पनि रातमा चिसो हावा सिधैँ ओढारभित्र छिर्छ ।

    उनलाई मागेर जुटाएको खाद्यान्न बाँदरबाट जोगाउनै हम्मे पर्छ । रातमा चितुवाको समेत डर छ । कुरिलाखर्ककी बासिन्दासमेत रहेकी बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले राहुललाई ओढारबाट घरमा पठाउने प्रयास गरे पनि नमानेको बताए ।

    ‘ओढारमा बसेको देख्नेबित्तिकै खोजीनीति गरेको हो’, उनले भने, ’अन्त जाने ठाउँ छैन, यहाँबाट नपठाउनु भनेर मान्दै मान्दैनन् ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology