‘शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । लिगको उद्घाटन दिउँसो ४ः३० बजे काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गर्नेछन् । उद्घाटन खेलमा एफसी खुमलटार र फ्रेन्ड्स क्लवबीच प्रतिस्पर्धा हुनेछ ।
दशरथ रंगशालामा हुने पहिलो खेल साँझ ५ः३० बजे सुरू हुनेछ । तीन मैदानमा आयोजना हुने शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ ।
यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछ । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रूपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले ३ लाख पाउनेछन् ।
मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रूपैयाँ पाउनेछन् ।
प्रत्येक खेलको विजेता क्लवले म्याच मनीबापत ५० हजार रूपैयाँ प्राप्त गर्नेछ भने बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ ।
हरेक खेलको म्यान अफ द म्याचले १० हजार रूपैयाँ पाउनेछन् ।
लिगमा संकटा क्लब , नेपाल पुलिस क्लब, सातदोबाटो युथ क्लब, त्रिभुवन आर्मी, एनआरटी, जाउलाखेल युथ क्लब, मनाङ मस्याङदी, थ्रीस्टार, खुमलटार, चर्च ब्वाइजलगायतका टीमबीच एसपटक भिडन्त हुनेछ ।