एक दिवसीय क्रिकेट करिअरको पहिलो शतक प्रहार गरेपछि आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अन्तिम शृखंलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी पीएनजीलाई २९८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा बिहीबार पीएनजीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले आसिफको ११० रन मद्दतमा ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रन बनाएको हो । नेपालले ओडीआई क्रिकेटमा बनाएको यो अहिलेसम्मकै ठूलो स्कोर हो ।
यसअघि कीर्तिपुरमै लिग–२ मा नामिबियाविरुद्ध नेपालले ठूलो लक्ष्य पछ्याउने क्रममा २८७ रन बनाएको थियो । नेपालका लागि आसिफले ११० बल खेल्दै १२ चौका र २ छक्का मद्दतमा ११० रन बनाए । कुशल भुर्तेलसँग ओपनिङ गरेका आसिफले पहिलो विकेटका लागि ११० रनकै साझेदारी गरेका थिए ।
उत्कृष्ट सुरुवात दिलाएपछि कुशल ४५ रन बनाएर आउट भए । उनले ५६ बल खेल्दै ६ चौका प्रहार गरे । ओडीआईमा नेपालको पहिलो विकेटका लागि दोस्रो शतकीय साझेदारी हो ।
यसअघि लिग–२ अन्तर्गत गत वर्ष अमेरिकामा यो जोडीले ओमानविरुद्ध पहिलो विकेटका लागि ११४ रनको साझेदारी गरेका थिए । आसिफले यसै खेलबाट ओडीआईमा एक हजार रन पनि पूरा गरेका छन् ।
उनी कप्तान रोहित पौडेलपछि एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी बने । ७ सेप्टेम्बर २०२१ मा ओमानमा भएको ओडीआई शृखंलामा पीएनजी विरुद्ध नै डेब्यु गरेका आसिफले ३२ खेल खेल्दै १ शतक र ७ अर्धशतक मद्दतमा एक हजार २० रन बनाएका छन् ।