चन्द्र गोतामे - भनिन्छ, सात समुन्द्र पारीको देशमा नेपालीहरु संग भेट हुदाँ पनि आफ्नै नातेदारलाई भेटेको जस्तो आभास हुन्छ। तर आफन्त जस्तै सोचेका तिनै व्यक्तिले जातीय विभेद तथा छुवाछुत गर्दा कसलाई पो पीडा बोध नहोला र ! देशमा होस् या विदेशमा जहाँ रहेपनि तथाकथित ठुला जातका व्यक्तिले जातीय विभेद तथा छुवाछुतका कुण्ठा बोकेर नै हिडेका हुन्छन्। जातीय विभेद तथा छुवाछुत हटिसक्यो भन्छन तर देशमा मात्र नभई बिदेशमा पनि हरेक पाइला पाइलामा जातीय विभेद उस्तै छ । अनि जातीय विभेद तथा छुवाछुत बिस्तारै आफै हट्छ भन्दै ठुला गफ चुट्दै हिड्ने पनि समाजमा धेरै छन । तर अहिलेसम्म समाजमा जातीय विभेद्का घटनामा खासै केही कमी भएको छैन र कुनै परिवर्तन भएको आभास हुदैन । केही ब्यक्तिले देखावटी रुपमा विभेदको अन्त्य भएको नाटक मन्चन गरेको मात्र भान हुन्छ । किन कि ती ब्यक्तिका मन मस्तिष्कमा जातीय विभेद तथा छुवाछुत हटाउनु पर्छ भन्ने ध्यय नै छैन।
एक्काईसौं शताब्दीसम्म आईपुग्दा पनि हाम्रो समाजले जातीय विभेद तथा छुवाछुत जस्तो कुप्रथा र घीन लाग्दो परम्पराबाट काचुली फेर्न नसक्नु निकै दुर्भाग्यपूर्ण छ । देशमा पटक पटक शासनसत्ता बदलियो तर खै समाजको संस्कार, चरित्र र शैली अनि मनोविज्ञान बदलिएको ? सरोकारवालाले सकृयरुपमा कडा निती नियम लागू नगर्दासम्म हट्ने वाला पनि छैन । जसरी अहिलेको फितलो रुपमा रहेको निती नियमले त झन कुनै सम्भावना नै छैन । समय समयमा माथिल्लो तहबाट थुप्रै घोषणा र कार्यक्रम बने तर नेपालमा जातीय छुवाछूत र विभेद कम भएको छैन । उच्चस्तरीय जातीय भेदभाव तथा छुवाछूत उन्मुलन समिति गठन गरि भेदभाव र छुवाछुतको उन्मुलन गर्ने प्रतिवद्दता जाहेर गरे पनि केही समयमै त्यो समिति नै निष्क्रिय भैदिन्छ । अनि कसरी हट्छ समाजमा जातीय विभेद तथा छुवाछुत ? सोच बढ्ल्नु पर्छ अनि विभेद हट्छ भन्नेको सोच अहिलेसम्म नबदलिएको देख्दा पनि उदेक लागेर आउछ ।
घरदेशमा मात्र होइन परदेशमा पनि जातीय विभेद तथा छुवाछुतबाट अपहेलित हुनु परेको धेरै घटना छन । रोजगारको लागि खाडी मुलुक कुवेत आएकी रश्मी मिजार पनि जातीय विभेद तथा छुवाछुतबाट अछुतो नरहेको बताउछिन । उनी घरेलु कामदारको रुपमा झन्डै ३ वर्ष पहिले कुवेत आएकी हुन । उनले भनिन 'म अहिले सात समुन्द्र पारी छु र पनि म जातीय विभेद तथा छुवाछुतको शिकार भए । मलाई लाग्थ्यो, सात समुन्द्र पारी हामी नेपाली सबै जना एकै घरको परिवार जस्तै होला भन्ने सोचेको थिए । तर मेरो सोच गलत ठहर भयो । जब म जातीय विभेद तथा छुवाछुतको शिकार हुनु पर्यो । नेपाली दिदिबहिनी संग भेट हुन पाउदा निकै खुशी लाग्थ्यो । तर ती नेपाली दिदिबहिनीले जातीय विभेद तथा छुवाछुत गर्दा भने निकै दुखको भान हुन्छ ।
हामी दुई जना नेपाली र एक जना फिलिपिनी महिला सहित तीन जना कुवेतीको घरमा घरेलु कामदारको रुपमा कार्यरत थियौ । एक जना नेपाली दिदि भने शर्मा थरकी हुनुहुन्थ्यो । दिदिले घरमा पारसल पठाउन सामान मिलाउदै हुनुहुन्थ्यो । अनि सामानहरु पोको पार्दै हुनुहुन्थ्यो । म पनि यत्तिकै किन बसिरहनु भनेर उहाँलाई सामान पोको पार्न समय लाग्ला भनेर मैले सघाउने निधो गरे । यो बिरानो परदेशको ठाउँमा पनि जातीयताको कुरा उठछ होला भनेर मैले कल्पना पनि गरेकी थिइन । मैले उहाँको सामान मिलाउन मात्र के लागेको थिए । तर दिदिको मुखबाट आवाज निस्कियो । त्यो सामान नछोउ । तिमिले छोएको सामान हाम्रो घरमा चल्दैन । त्यहाँ मिठाई छ । घरमा बुढा-बुढी बाबा आमाले खानु पर्छ । त्यसैले यो सामान नछोउ । यो आवाज सुन्न साथ म त छाङ्गाबाट खसे जस्तै भए । दिदि यो बिदेशको ठाउँमा पनि विभेदको कुरा गर्ने हो ? तर उहाँले भन्नु भयो विदेश होस कि स्वदेश तिमी सानो जातिले छोएको घरमा चल्दैन । उहाँले मैले बनाएको खाना पनि जातीयताकै कारण खान नमान्ने भएकोले गर्दा निकै समस्या पर्ने गर्थ्यो ।
एक दिन मालिक मालिक्नी सहित हामी कामदार सबै जना मालिकको ससुराल गएका थियौ । त्यहाँ पनि खाना बनाउन मलाई नै अनुरोध गरेको हुदा मैले सबै खानाका परिकार बनाएको थिए । मालिकको ससुरालीमा पनि एक जना पाण्डे थरकी दिदि हुनुहुन्थ्यो । खाना बनाईसकेपछि उहाँले मलाई सोध्नु भयो बहिनी तिमी कुन थरकी हो ? मैले पनि सिधै आफ्नो थर सार्की हो भनेको थिए । अनि त्यो दिदिले पनि तिमि सार्कीले पकाएको खाना मलाई चल्दैन । म पाण्डेकी छोरी हु भनेर भन्नु भयो । अनि त्यो खाना पनि खानु भएन । फ्रीजर बाट काक्रा र गाजर निकालेर खानु भयो । अनि मैले पनि उहाँलाई भने यो विदेश हो । यहाँ पनि विभेद गर्न हुन्छ ? तर उहाँले पनि उस्तै गरी भन्नु भयो कि स्वदेश होस की बिदेश तिमि सार्कीले बनाएको खाना चल्दैन । गाउ घरमा हुदा पनि निकै विभेद भोगेकी थिए अहिले विदेशमा उस्तै जातीय विभेद भोग्न पर्यो '। उनले थपिन 'जातीय विभेद र छुवाछुत गर्नु पर्छ भन्ने मानसिकताले ग्रसित भएकाहरु जहाँ जादा पनि विभेद गर्दा रहिछन । मानिस सबको रगत रातो छ सबै कुरा मिल्छ तर जात मिल्दैन । सानो जातीले छोएको पानी चल्दैन । खासमा जात भनेको महिला र पुरुष मात्र हो तर हाम्रो समाजमा धेरै जात जातीमा विभाजन गरी भेदभाव, छुवाछुत दमन र शोषण गरिरहेका छन ।
यो एक्काईसौं शताब्दीसम्म आईपुग्दा पनि विदेशमा यस्तो अपहेलित हुनु पर्ने रहिछ । अनि त्यहाँ एक छिन पनि बस्ने मन भएन । म त्यहा बाट निस्किएर गए । मनमा धेरै कुरा खेल्यो अनि निकै पीडादायी महसुस भयो । स्वदेशमा पनि धेरै विभेद भोगेको थिए र अहिले यो सात समुन्द्र पारी आउदा पनि उत्तिकै विभेद भोग्नु पर्दा निकै दुख लाग्छ' उनले भनिन ।
त्यस्तै कुवेतको एक प्रतिष्ठित कम्पनीमा कार्यरत श्याम विस्वकर्माले पनि जातीय विभेद भोग्नु परेको बताउँछन । त्यो कम्पनीमा कार्यरत ठुला जातका नेपालीहरुले साना जातका मानिसलाई होच्याउने खिसितिउरी गर्ने गरेको बताउँछन । दलित समुदायको केही ब्यक्ति कम्पनीको उच्च पदमा हुदा ठुला जातका ब्यक्तिले कसरि सानो जातका मानिस भएर उच्च पदमा पुग्यो भनेर खुट्टा तान्ने गरेको बताउँछन । दलित समुदायका कोही ब्यक्ति कम्पनीको उच्च पदमा काम गर्दा होस वा नेपाली संघ संस्थाको अगुवा बन्दा होस जातीय विभेदको गन्ध आईहाल्छ । ठुला जातका ब्यक्तिको मानसिकतामा जातीय विभेद गर्न हुदैन भन्ने सोच अझै सम्म पनि आएको देखिदैन । दलित समुदायका ब्यक्तिले केही गर्न नै सक्दैनन भन्ने ग्रसित मानसिकता यथावत् नै छ । कम्पनीका कार्यालयका काम होस वा अन्य काममा पनि दलित समुदायका व्यक्तिले अगुवा गरेको देखि सहदैनन् । दलित भएर पनि कसरि ठुलो पदमा पुग्यो भन्ने तर्क बितर्क गर्छन ।
अहिले पनि तथाकथित तल्लो जात बनाईएका समुदायका मानिसले अनाहकमा ज्यान गुमाउनु परेको छ । अन्तरजातीय विवाह गरेकै कारण आत्महत्या गर्न बाध्य छन्, चुलो छोएको निहुमा ज्यान गुमाउन परेको छ । अझै पनि अपमान, ताडना र कष्टका बादल मुनि रहन र पीडा खप्न अभिशप्त छन् । जातीय विभेद तथा छुवाछुतको पीडामा परेको निश्चित समुदायको मात्र नभई हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रको समस्या हो भनेर नबुझेसम्म यसको अन्त्य हुन सक्दैन ।