Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

माताले कुटपिट गर्दा एक बालिकाको मृत्यु भएपछि अनुसन्धानको क्रममा गाउँले नै तानिए

माताले कुटपिट गर्दा एक बालिकाको मृत्यु भएपछि अनुसन्धानको क्रममा गाउँले नै तानिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २८, २०७९ आइतवार • १६:५९:३९ बजे
  • 502
    SHARES
  • माताले कुटपिट गर्दा एक बालिकाको मृत्यु भएपछि अनुसन्धानको क्रममा गाउँले नै तानिए

    झारफुक गर्ने माताले कुटपिट गर्दा एक बालिकाको मृत्यु भएपछि अनुसन्धानको क्रममा गाउँले नै तानिएका छन् । मलामी गएकासहित एकै गाउँका २१ जना मानिस पक्राउ परेका छन् । रुपन्देही सैनामैना नगरपालिका १० की २२ वर्षीय माता भन्ने सोनिया रेश्मीको कुटपिटबाट सैनामैना नगरपालिका १० की १४ वर्षीय सीता ज्ञवालीको फागुन २० गते मृत्यु भएको प्रहरीले जनाएको छ । बिरामी परेकी उनलाई झाँक्रीकोमा निको पार्ने भन्दै माताको घरमा लगिएको थियो ।

    images

    प्रहरीले माता भनिने सोनिया रेश्मी, मृतक बालिकाका बाबुसहित १७ जनालाई पक्राउ गरेको रुपन्देही प्रहरीले जनाएको छ । सीतालाई सोनियाले चरम यातना दिइरहे पनि उनका आफन्तले रोक लगाउनुको सट्टा भिडिओ खिचिरहे । सोही यातनाका कारण सीताको मृत्यु भएपछि मृतकका परिवारले राति नै कपिलवस्तुको लक्ष्मणघाटमा लगेर दाहसंस्कार गरी घटना गुपचुप राखेका थिए ।

    उक्त घटना गुपचुप राख्ने प्रयत्न गरे पनि झारफुकको बहानामा चरम यातना दिइरहँदा खिचिएको भिडिओ एकाएक सामाजिक सञ्जालमार्फत बाहिरिएपछि घटना सार्वजनिक भएको थियो । भिडिओ सार्वजनिक भएपछि तत्काल अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले सोमबार नै सोनियालाई पक्राउ गरेको थियो । घटना लुकाउन रातारात गरिएको दाहसंस्कारमा संलग्नहरू भने पक्राउ परेका थिएनन् ।

    सीताको मृत्यु हुने गरी यातना दिइरहँदा हेरेर बस्ने उनका आफन्त, भिडिओ खिच्ने व्यक्ति र दाहसंस्कारमा संलग्नहरूलाई समेत पक्राउ गर्न सामाजिक सञ्जाल मार्फत प्रहरीलाई दबाब परेको थियो । त्यसपछि प्रहरीले मृतक सीताका बुवासहित घटनामा र दाहसंस्कारमा संलग्नहरू समेत गरी १७ जनालाई पक्राउ गरेको जनाएको छ । को को पक्राउ परेका हुन् भन्नेबारे भने प्रहरीले खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार घटनाबारे अनुसन्धान भइरहेकाले पक्राउ परेकाको नाम सार्वजनिक नगरिएको हो । ’घटना अत्यन्त संवेदनशील छ । गहिरो अनुसन्धान भइरहेकाले पक्राउ परेकाको नाम सार्वजनिक गरेका छैनौँ ।

    माता भन्ने सोनिया र मृतकका बुवासहित १७ जना पक्राउ परेका छन्,’ प्रहरी निरीक्षक कुँवरले भने । सीताका आमालाई भने प्रहरीले पक्राउ नगरेको उनले बताए । ‘अहिले अनुसन्धान भइरहेकाले घटनामा संलग्न भएकाहरूबारे अझै अध्ययन गरिरहेका छौं । अनुसन्धान गर्दै जाँदा संलग्न देखिएका सबैलाई पक्राउ गर्छौं,’ उनले भने । माताले बालिकाको शरीरमाथि चढी घण्टी बजाउँदै गालामा थप्पड हान्ने, आइज, देखिस्, कति खान्छस्, मेरो पावर देखिस् भन्दै रुद्राक्षको मालाले शरीरको विभिन्न भागमा हान्ने, भुइँमा लडाउने, टाउको र घाँटीमा खुट्टाले टेक्ने, पटक पटक जगले नाकमुखमा पानी खन्याउने, कपालमा समाई टाउको बटारी दिने गरेकी थिइन् ।

    यस्तै कपालमा समाइ अनुहारको भागमा थुक्ने, खरानी खुवाइदिने र लछारपछार पारी कुटपिट समेत गरेको भिडिओमा देखिएको छ । उक्त भिडिओका आधारमा प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो । माता सोनिया रेश्मीको घरबाट बालिकालाई लछारपछार, कुटपिट गर्दा प्रयोग भएका विभिन्न सामाग्रीहरू त्रिशूल, जग, रुद्राक्षको माला लगायत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । मृतक सीता ज्ञवालीका परिवारले विगत ४-५ दिनदेखि सीता कानसम्बन्धी बिरामी भएकी, पटक पटक अस्पताल लगेर चेकजाँच गरी औषधि सेवन गर्दा निको नभएको हुँदा माता भन्ने सोनिया रेश्मीले झारफुक गरी ठिक पार्छिन् भन्ने लागेर उनको घरमा लगेको बताएका छन् । यो घटनामा गाउँले नै तानिएपछि उनीहरू चिन्तित बनेका छन् ।

  • सम्बन्धित विषय:

  • # बालिकाको मृत्यु भएपछि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology