Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हुम्ला अस्पतालमा औषधि अभाव

हुम्ला अस्पतालमा औषधि अभाव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १८, २०७९ शनिवार • १५:१३:३४ बजे
  • 796
    SHARES
  • हुम्ला अस्पतालमा औषधि अभाव
    सिमकोट, १८ चैत (रासस) हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा औषधि अभाव भएको छ । यहाँ तीन महिनादेखि औषधि अभाव हुँदा जटिल रोगका बिरामीको उपचारमा समस्या भएको छ ।
     
    अस्पतालमा ९८ प्रकारका औषधि हुनुपर्नेमा हाल २५ प्रकारका मात्र रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम सिंहले बताउनुभयो । “जिल्ला अस्पतालको औषधि स्टोर कक्ष तीन महिनादेखि रित्तै छ । प्रदेश सरकारले खरिद प्रक्रियामा ढिलाइ गर्दा औषधि अभाव भएको हो”, उहाँले भन्नुभयो । प्रमुख सिंहका अनुसार उपचार गर्न आउने अधिकांश बिरामी औषधि नपाएर रित्तै फर्किने गरेका छन् ।
     
    सिमकोट र नाम्खा गाउँपालिकास्थित स्वास्थ्य चौकीबाट सापटी मागेर बिरामीको उपचार गर्नु परेको उहाँको भनाइ छ । प्रदेश सरकारलाई औषधि अभावबारे पटक–पटक जानकारी गराएको भए पनि हालसम्म सुनुवाइन नभएको प्रमुख सिंहले बताउनुभयो । दुई–तीन पटक मन्त्रालयमा गएर यसबारे जानकारी गराउँदा पनि सुनुवाइ नभएको उहाँको भनाइ छ । पन्ध्र शय्याको जिल्ला अस्पतालमा यसबाट बिरामी मारमा परेका छन् ।
     
    सापट मागेर बिरामीको उपचार
     
    केही दिनअघि विष सेवन गरेका सिमकोट गाउँपालिका–१ का वीर भण्डारीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइयो ।
     
    औषधि अभावका कारण सामान्य उपचार गरी नेपालगञ्ज पठाइएको अस्पतालले जनाएको छ । अस्पतालमा अभाव भएपछि बिरामीले निजी क्लिनिकबाट औषधि किन्नुपर्ने बाध्यता रहेको खार्पुनाथ गाउँपालिका–४ का प्रजित रोकायाले बताउनुभयो । यस्तै श्रीमतीको उपचार गर्न जिल्ला अस्पताल आउनुभएका सर्केगाड गाउँपालिका–२ का मनसिंह कार्की पनि निजी क्लिनिकबाट महँगोमा औषधि किन्नु परेको बताउनुहुन्छ ।
     
    रुघाखोकीका बिरामी बढ्दै
     
    जिल्ला अस्पतालमा रुघाखोकी र श्वासप्रश्वासका बिरामीको सङ्ख्या बढ्न थालेको छ । मौसममा एक्कासी आएको परिवर्तनका कारण बिरामी दैनिक बढिरहेका अस्पतालका सिनियर अनमी सरीता बोहराले बताउनुभयो । “दैनिक ८० देखि ९० सम्म बिरामी उपचारका लागि आउने गरेका छन् ।
     
    जटिल प्रकृतिका बिमारीलाई भर्ना गरेर राख्नुपर्ने भए पनि शय्याको अभाव हुन थालेको छ”, उहाँले भन्नुभयो । सङ्ख्या बढेपछि भुुइँमा राखेर बिरामीको उपचार गर्नुपरिरहेको बोहराले बताउनुभयो । प्रदेश सरकारबाट उपलब्ध रू १० लाख बराबरको औषधि दुई महिनाभन्दा बढी समयलाई नपुग्ने अस्पतालका स्टोरकिपर मनिकृष्ण जैसीले बताउनुभयो । बजेट अभावका कारण औषधि खरिद गर्न नसकिएको उहाँले बताउनुभयो ।

  • सम्बन्धित विषय:

  • # औषधि अभाव
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology