Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मरेका चौपाया व्यवस्थापन नहुँदा गौशाला दुर्गन्धित

मरेका चौपाया व्यवस्थापन नहुँदा गौशाला दुर्गन्धित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २०, २०७९ सोमवार • १६:५१:५६ बजे
  • 361
    SHARES
  • मरेका चौपाया व्यवस्थापन नहुँदा गौशाला दुर्गन्धित

    कैलालीको जानकी गाउँपालिका वडा नं १ दुर्गौलीमा मरेका चौपाया व्यवस्थापन नहुँदा गौशाला दुर्गन्धित बनेको छ । 

    images

     गाउँपालिका कार्यालयबाट करिब तीन सय मिटरको दूरीमा गौशाला बनेको छ । केही समय किसानको अन्न बाली जोगाउनका लागि बनाइएको गौशालामा गाउँपालिका र स्थानीय किसानको लगानी छ । 

     संयुक्तरुपमा लगानी भएको गौशाला बाहिरबाट राम्रो देखिए पनि त्यसभित्रको नाजुक अवस्थाका बारेमा समिति र गाउँपालिका कोही जानकार छैनन् । मरेका चौपाया व्यवस्थापन हुन नसकेर गौशाला आसपासको क्षेत्र दुर्गन्धित बनेको छ । नाक छोपेर हिँड्नुपर्ने स्थिति रहेको स्थानीय महेश चौधरी बताउनुहुन्छ ।

     गौशालाभित्र मरेका गाईको व्यवस्थापन नहुँदा आसपासका क्षेत्रका स्थानीयलाई बस्नसमेत गाह्रो भएको स्थानीय बपल रावत बताउनुहुन्छ । “मरेका गाईको व्यवस्थापन नहुँदा आसपासका क्षेत्र दुर्गन्धित बनेका छन्, त्यसमा समिति पनि जिम्मेवार बन्न सकेको छैन, गाउँपालिकाको कुरै छोडौँ”, रावत भन्नुहुन्छ ।

     वडा नं १ मा गौशाला व्यवस्थापनकै लागि स्थानीय कृषकबाट चन्दा सङ्कलनको काम पनि भइरहेको छ । गाउँका बडघरमार्फत चौपायाको आहाराका लागि स्थानीयबाट प्रतिघर रु एक सयका दरले रकम सङ्कलन भइरहेको वडाध्यक्ष सुरेशकुमार चौधरी बताउनुहुन्छ । स्थानीयबाट सङ्कलन भएको रकमले जग्गा भाडामा लिएर घाँस खेती गर्ने योजना चौपाया व्यवस्थापन समितिले बनाएको छ । 

     “मैले जिल्ला समन्वय समितिको पहिलो बैठकमै सामुदायिक चौपाया व्यवस्थापनका लागि सबै पालिकाले काम गर्नेगरी निर्णय गराएको थिएँ, त्यसलाई कार्यपालिकाको बैठकमा पनि छलफलमा ल्याए”, गाउँपालिकाका अध्यक्ष गणेश चौधरी भन्नुहुन्छ, “त्यसैअनुसार स्थानीयको पनि लगानी रहने गरी काम सुरु भएको थियो, चौपाया व्यवस्थापन गर्ने कुरा सहज थिएन र समाधानतिर लैजान सकिएन ।”
        
     उहाँले चौपाया व्यवस्थापन समितिले माग गरेअनुसार गाउँपालिकाले सहयोग गरेको जनाउँदै सबै काम गाउँपालिकाको स्रोत र साधनले नभ्याउने बताउनुभयो । 

     “वडास्तरबाट चौपाया व्यवस्थापन गर्नेगरी काम सुरु भएको हो, त्यसमा हाम्रो मात्रै लगानी नरहने गरी समुदायको पनि लगानी हुनेगरी काम अगाडि बढाएका थियौँ”, अध्यक्ष चौधरीले भन्नुभयो, “आज दोषी गाउँपालिका मात्रै देखिन्छ, दोष हाम्रो छैन, जसले गलत गरेको छ त्यसैले विरोध गर्ने काम भएको छ”, अध्यक्ष चौधरीले मरेका गाईको व्यवस्थापनका लागि गाउँपालिकाले काम गरिरहेको  बताउनुभयो । 

  • सम्बन्धित विषय:

  • # गौशाला दुर्गन्धित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology