Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

विपन्नका लागि घर बनाइँदै

विपन्नका लागि घर बनाइँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २०, २०७९ सोमवार • १७:१९:१४ बजे
  • 553
    SHARES
  • विपन्नका लागि घर बनाइँदै

    कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले चालु आर्थिक वर्षमा नगर क्षेत्रका गरिब तथा विपन्न समुदायका लागि आवास निर्माण थालनी गरेको छ ।

    images

     नगरपालिकाले ‘मेयर–उपमेयर’ आवास कार्यक्रमअन्तर्गत यहाँ १९ घर निर्माण थालिएको नगरपाकिलाका प्रवक्ता ओम बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार नगर क्षेत्रभित्र गत वर्ष पनि पूर्वसङ्घीय सांसद डा दीपकप्रकाश भट्ट र सुदूरपश्चिम प्रदेशसभा सदस्य पूर्वमन्त्री मानबहादुर सुनारको पहलमा समेत यहाँ विपन्न समुदायका लागि दुईकोठे पक्की घर बनेका थिए ।

     “चालु आवमा नगरबाट १९ र हाम्रो वडाबाट विनियोजित बजेटले तीन घर निर्माणको अन्तिम चरणमा छन्”, वडा नं ६ का वडाध्यक्षसमेत रहनुभएका प्रवक्ता बस्नेतले भन्नुभयो, “प्रदेशको जनता आवास कार्यक्रममार्फत पनि यहाँ विपन्न तथा गरिब समुदायलाई घर बनाइएको थियो ।”

     यसअघि सङ्घीय सांसद भट्टले यहाँ घर निर्माणका लागि रु ५० लाख विनियोजन गरेको वडाध्यक्ष बस्नेतको भनाइ छ । चालु आवमा यहाँ १९ घर निर्माणका लागि ‘मेयर उपमेयर’ कार्यक्रममार्फत रु ४५ लाख बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

     “विपन्न समुदायले आवास नहुँदा वर्षात् र हावाहुरीका बेला निकै सास्ती खेप्नुपर्ने अवस्था आउँथ्यो”, उहाँले भन्नुभयो, “गरिब, विपन्न र दलितलगायत निम्न आयस्रोत भएकाको समस्या समाधानका लागि जनप्रतिनिधि सक्रिय छौँ ।”

     उहाँले अझै पनि नगरभित्र विपन्न समुदायमा आवासको माग बढिरहेको जानकारी दिनुभयो । दोधारा चाँदनी–६ का वृद्ध जयलाल सुनार झोपडीबाट पक्की घरमा सरेपछि हर्षित हुनुहुन्छ । “अवस्थाले पक्की घरमा बसौँला भन्ने सोचेको पनि थिएन”, सुनारले भन्नुभयो, “घर बनाइदिएकामा नगरपालिकाप्रति आभारी छु ।”

     यसैगरी दोधारा चाँदनी–४ का जिया सुनार पक्की घर निर्माण गरिदिने खबरले खुसी हुनुहुन्छ । विपन्न समुदायलाई आवासका साथै आयमूलक काममा लाग्न मद्दत पुग्ने सीपमूलक तालिम पनि बस्तीमा सञ्चालन हुनुपर्नेमा सुनारको जोड थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology