Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एकीकृत घुम्ती शिविरमा गाउँपालिकाका सबै सेवा पाउँदा सेवाग्राही दङ्ग

एकीकृत घुम्ती शिविरमा गाउँपालिकाका सबै सेवा पाउँदा सेवाग्राही दङ्ग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २५, २०७९ शनिवार • ११:१३:४७ बजे
  • 376
    SHARES
  • एकीकृत घुम्ती शिविरमा गाउँपालिकाका सबै सेवा पाउँदा सेवाग्राही दङ्ग

    याङवरक गाउँपालिका र गाउँपालिका–३ कार्यालयले बिहीबार वडाको सामाङ्खुमा आयोजना गरेको एकीकृत घुम्ती शिविरमा गाउँपालिकाका सबै सेवा पाउँदा सेवाग्राही दङ्ग देखिन्थे । आफ्नो स्वास्थ्य परीक्षण, सिफारिससहित कागजात निर्माण, बालीनाली र पशुपंक्षीका समस्या समाधान गर्न सेवाग्राहीलाई चटारो थियो । 

    images

     निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) लोकमार्गले जोडेको स्थान भए पनि यहाँका सेवाग्राही करिब एक घण्टाको दूरीमा रहेको गाउँपालिकाको केन्द्र थर्पु पुगेर सेवा लिन नसकेको घुम्ती शिविरको भीडले देखाउँथ्यो । सामाङ्खुका हङ्शबहादुर सेलिङले एकैसाथ सागसब्जीको बीउविजन, गाई र बाख्रालाई भिटामिन, औषधि र आफ्ना लागि सामान लिनुभयो । सडकसँगै घर रहे पनि थर्पु पुगेर सेवा लिन हङ्शबहादुर अझै तयार हुनुभएको थिएन । “सबै सेवा यसरी सहज पाइन्छ भन्ने पहिले थाहा थिएन । शिविर आएपछि मात्रै सेवा लिन सके”, सेलिङले भन्नुभयो, “यस्तो शिविर भविष्यमा पनि आयोजना भए हुन्थ्यो ।”

     सामाङ्खुकै वीरेन्द्र सेलिङले शिविरकै दिन मात्रै जानकारी पाउनुभएको थियो । उहाँले भन्नुभयो, “शिविरकै दिन मात्रै थाहा पाएकाले धेरै सेवा लिन सकिनँ । पछि पनि यस्ता कार्यक्रम भए हुन्थ्यो ।” वीरेन्द्र पनि यसरी सरकारी सेवा सहजै पाइन्छ भन्ने थाहा नभएको बताउनुहुन्छ । घुम्ती शिविरमा आएका अधिकांश सेवाग्राही सरकारी सेवाको उपलब्धताबारे जानकार नहुनुका साथै ती सेवा लिने प्रक्रियाबारे अनविज्ञ रहेको पाइन्थ्यो । 

     घरदैलोमा सेवा पाएपछि भने सेवाग्राहीले सोधेर, बुझेर पाएसम्मका सेवा लिएका थिए । एकीकृत घुम्ती शिविरमा उक्त वडाका विभिन्न टोलका एक सय ७० बढी सेवाग्राही आएका थिए । 
     उक्त वडाका वडाध्यक्ष विमल राईका अनुसार एकीकृत घुम्ती शिविरबाट सरकारी कागजपत्र, स्वास्थ्य र कृषि लगायतका सेवा दिइएको छ ।  “धेरै सेवाग्राही अन्यत्र गएर सेवा लिन सक्षम नभएकाले टोल र घरमा गएर सेवा दिने उद्देश्य राखेर शिविर आयोजना गर्न थालेका हौँ”, राईले भन्नुभयो, “सरकार र जनताको सम्बन्ध विस्तार गर्ने र सरकारको उपस्थिति घरघरमा पु¥याउन खोजेका छौँ ।” एकीकृत सेवा प्रवाह गर्दा धेरै सेवाग्राही लाभान्वित भएको उहाँको भनाइ छ । 

     नागरिकको आवश्यकताका सेवा भूगोलका हिसाबले नजिकको सरकारबाट टाढा परेको अवस्थामा शिविरको आयोजना गरी प्रवाह गर्दा प्रभावकारी देखिएको याङवरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङदेनको भनाइ छ । निर्माणाधीन मध्यपहाडी लोकमार्गले याङवरक गाउँपालिकाका छ वटै वडालाई समेटेको छ । तर गाउँपालिकाका वडा नं. १, २ र ३ मा छरिएको वस्ती हुनुका साथै भूगोलका हिसाबले गाउँपालिकाको केन्द्र पुग्न समय लाग्दछ । गाउँपालिकाको केन्द्र थर्पु पुगेर सेवा लिन नसकेको अवस्थामा शिविरमार्फत गाउँपालिका घरसम्म आइपुग्छ भन्ने अनुभूति दिलाउने प्रयास गरिएको गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्या (सुवास)को भनाइ छ । “तीन वडाका जनताले गाउँपालिकाको केन्द्र टाढा परेको अनुभूति गर्नुभएको कुरामा हामी जानकार छौँ । त्यसले सबै सेवा दिएर एक दिन भए पनि गाउँपालिका आफ्नै टोल आँगनमा छ भन्ने अनुभूति दिलाउन खोजेका हौँ”, उहाँले भन्नुभयो ।

     गाउँपालिकाले सबै शाखाका कर्मचारी, प्राविधिक तथा स्वास्थ्यकर्मीलाई एकीकृत शिविरमा खटाइ जनतालाई सहज सेवा प्रवाह गर्ने कामको सुरुआत गरेको गाउँपालिका उपाध्यक्ष बाबा मेन्याङ्बोको भनाइ छ । गाउँपालिकाले आगामी दिनमा यस्तो सेवा भौगोलिक रुपले टाढा रहेका वडा नं. १ च्याङथापु, वडा नं. २ फलैँचा र वडा नं. ३ ओयामका विभिन्न टोलमा सञ्चालन गर्ने मेन्याङबोले जानकारी दिनुभयो । 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology